कोभिड विरुद्धको ४० लाख डोज खोप खेर जाने अवस्थामा

१५ माघ, काठमाडौं । कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिले ‘स्टक’मा रहेको ४० लाख मात्रा साइनोभ्याक खोप प्रयोगविहीन बनेको हो ।

लक्षित सबै नागरिकले कोभिड–१९ विरुद्धका दुई मात्रा खोप लगाइसकेको र ‘बुस्टर’ मात्राका रूपमा सो खोप दिन नमिल्ने शाखाले जनाएको छ । विभागसँग स्टकमा रहेको ४० लाख मात्रा खोप के गर्ने भन्ने निर्णय नभएको शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए ।

frontline

“स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग्य म्याद डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ,” चौरासियाले भने । सो खोप चीन सरकारले नेपाललाई सहयोगस्वरूप निःशुल्क उपलब्ध गराएको थियो ।

बुस्टरका लागि विभागले कोभ्याक्स सुविधामार्फत आउँदो फेब्रुअरी दोस्रो साता थप १० लाख मात्रा फाइजर खोप ल्याउने भएको छ । सो खोप १२ वर्षमाथिका दुई मात्रा पूरा गरेका नागरिकलाई दिइनेछ ।

बुस्टरपछि सरकारले कोभिड–१९ विरुद्धको चौथो मात्रा खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । त्यसका लागि थप १५ लाख मात्रा फाइजर खोप ल्याउने विभागको तयारी छ ।

परिवार कल्याण महाशाखाले गएको कात्तिक २० गते नै चौथो मात्रा खोप दिने निर्णय गरेको थियो । महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर मात्रा लगाएका नागरिकलाई सो खोप दिइनेछ ।

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ समूह छुट्ट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोधी क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मी रहेका छन् ।

५ देखि १२ वर्षसम्मका बालबालिकालाई समेत गरी नेपालमा हालसम्म पाँच करोड ७२ लाख ६४ हजार २०१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here