कोभिडले अभिभावक गुमाएर टुहुरा बालबालिकालाई एसओएसको संरक्षण
काठमाण्डौं । कोभिडका कारण मृत्यु हुनेको संख्या साढे १० हजार नाघेको छ । तीमध्ये एक चौथाइ २० देखि ४९ वर्षका हुन् । जसका कारण धेरै बालबालिका अभिभावकविहिन बन्न पुगेका छन् ।
कोभिडले अभिभावक गुमाएर टुहुरा भएका बालबालिकालाई एसओएस बालग्रामले संरक्षण दिन थालेको छ ।
कैलालीमा ५३ दिनको शिशुले कोभिडका कारण अभिभावक गुमाइन् । ती शिशु अहिले एसओएस बालग्राममा छन् । कोभिडले अभिभावकविहिन भएर बालग्रामको संरक्षणमा ल्याइएका शिशु ती मात्र होइनन् ।
बालग्रामले ती शिशुजस्तै १७ जनाको लालनपालनको जिम्मा लिएको छ ।
एसओएसले आफ्ना विभिन्न १० वटा बालग्राममा कोभिडले अभिभावक गुमाएका ५० बालबालिकालाई राखेको छ । त्यस्तै ८० बालबालिकालाई मद्दत गरिरहेको छ । टुहुरा भएका अरु बालबालिकाको संरक्षणका लागि स्थानीय प्रशासनले ताकेता गरिरहेका छन् ।
कोभिडका कारण कति बालबालिका टुहुरा भए भन्ने यकिन विवरण राज्यका कुनै निकायसँग छैन । एसओएसले थप डेढ सय बालबालिकालाई बालग्राममा राखेर हेरचाह गर्ने र ४ सयभन्दा बढीलाई २३ वर्षको नहुञ्जेल आर्थिक सहयोग गर्ने जनाएको छ ।
कोभिडले अभिभावक गुमाएका बालबालिकालाई संरक्षण दिने अरु संस्था पनि छन् । यस्तै कतिपय मनकारीहरुले व्यक्तिगत रुपमा पनि सहयोग गरेका छन् । तर यसको एकीकृत तथ्यांक छैन ।
प्रतिक्रिया दिनुहोस्