कोकाकोला भारतद्वारा नेपालकी देवयानी राणालाई उपाध्यक्षमा नियुक्त

काठमाडौं । कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ ।
कोकाकोलाले राणालाई भारत र दक्षिण-पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।




यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् ।
कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए ।
उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।
विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरिसकेकी छिन् ।
राणाले यो अवधिमा यो क्षेत्रमा पूर्वाधार, वातावरण, सामाजिक र सुशासन र व्यापारमा प्रभावकारी रणानीतिको विकास गर्न सफल भएकी छिन् ।
साथै उनले कम्पनीको नाफा बढाउँदै व्यापार विस्तार पनि गराउन सफल भएकी छिन् ।
राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्