के अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ‘केजीबी एजेन्ट’ हुन् ?

गत फेब्रुअरी २० तारिखमा हालको रुस र तत्कालीन सोभियत संघको जासुसी संस्था ‘कोमिटेट गोसुन्दारस्टेभनोए बेजोपास्नोस्ती’ अर्थात् ‘केजीबी’का एक जना पूर्ववरिष्ठ अधिकारी अलनुर मुस्सायबले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखे ।
त्यस स्टाटसले आजका दिन अमेरिकालाई मात्र नभएर सारा संसारलाई नै स्तब्ध र घोत्लिनुपर्ने बनाइदिएको छ । कतिले मुस्सायबको स्टाटसलाई अमेरिकी ‘डिप स्टेट’ को सूचना युद्धका रूपमा लेखाइएको व्याख्या गरिरहेका छन् भने कतिले त्यसलाई सही हो भन्दै वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति शङ्का व्यक्त गरिरहेका छन् ।




अमेरिकी समाज र विश्व राजनीतिलाई नै प्रभावित पार्ने उनको स्टाटस के थियो त भन्ने चासो हुनु स्वाभाविक हो । अलनुर मुस्सायब आफ्नो स्टाटसमा लेख्छन्, ‘सन् १९८७ मा म तत्कालीन सोभियत संघको जासुसी संस्था केजीबीको छैटौँ विभाग अन्तर्गतको कार्यालय, मस्कोमा कार्यरत थिएँ । उक्त विभागको मुख्य काम पुँजीवादी मुलुकका व्यापारीबाट जासुसी तथा विभिन्न सूचना सङ्कलन गर्नु थियो । त्यसै वर्ष एक जना ४० वर्षीय अमेरिकी व्यापारी डोनाल्ड ट्रम्प पनि हाम्रो विभागमा नियुक्त भए र, उनलाई क्रास्नोभ भन्ने कोड नाम दिइयो ।’

यसलगत्तै अमेरिकी राष्ट्रपतिका आलोचकहरूले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ट्रम्पको मिम बनाएर, विभिन्न पत्रिकाको समाचार कोट गरेर आलोचना गरिरहेका छन् । यस्तै एउटा मिममा ट्रम्पको घाँटीमा पट्टा बाँधेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोर्याइरहेको देखाइएको छ ।
त्यस्तै अर्को पोस्टरमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई रसियन टोपीसहित केजीबीको पोसाकमा प्रस्तुत गर्दै लेखिएको छ– ‘मस्को एजेन्ट गभर्निङ अमेरिका’ ।

यो अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पले तयार पारेको ‘मेक अमेरिका ग्रेट अगेन’ अर्थात् ‘एमएजीए’ लाई फेरेर बनाइएको नारा हो ।
यस्तै आरोप यसअघि सन् २०२१ मा अमेरिकी लेखक तथा पत्रकार क्रेक अंगरले आफ्नो पुस्तक ‘अमेरिकन कम्प्रोम्याट’ मा गरेका थिए । जसमा ट्रम्पलाई मस्कोले आफ्नो जासुस नियुक्त गरेको बताइएको छ । उनले आफ्नो पुस्तकमा ट्रम्प केजीबीका ‘एसेट’ हुन भन्नका लागि केजीबीकै पूर्वएजेन्ट युरी स्भेट्सलाई कोट गरेका थिए ।
स्भेट्सका अनुसार ट्रम्पलाई सन् १९८७ मा केजीबीको एसेटका रूपमा नियुक्त गरिएको थियो तर, पत्रकार अंगरको पुस्तकलाई कतिपयले षड्यन्त्रको सिद्धान्तका रूपमा बुझ्ने गर्छन् । उनको पुस्तकको पनि कतैबाट स्वतन्त्र पुष्टि हुन सकेको छैन ।
त्यसैले होला, ट्रम्पका समर्थकहरूले आजका दिनसम्म यसबारे कुनै पनि आधिकारिक तथ्याङ्कले ट्रम्प केजीबीका एजेन्ट वा एसेट हुन् भन्ने भाष्यलाई स्थापित गर्न नसकेको बताउने गरेका छन् ।
तर, पत्रकार अंगरको पुस्तक प्रकाशित भएकै वर्ष ट्रम्पले मस्को भ्रमण गरेका थिए । उनले मस्को भ्रमणमात्रै गरेनन्, अमेरिका फर्के लगत्तै उनले अमेरिकाका तीन मुख्य अखबारमा अमेरिकी विदेश नीतिको आलोचना गर्दै तीन पृष्ठ लामो एड्भोटोरियल छपाए । यसका लागि ट्रम्पले ९४ हजार ८०१ अमेरिकी डलर खर्चेका थिए ।
त्यसै वर्ष ट्रम्पको चर्चित पुस्तक ‘द आर्ट अफ द डिल’ प्रकाशित भएको थियो, जसमा ट्रम्पले आफूले मस्कोमा ट्रम्प बिल्डिङ बनाउन चाहेको पनि खुलासा गरेका थिए । यसलाई समेत कतिपयले आशङ्काको रूपमा हेर्ने गर्छन् । अमेरिकी समाज जति नै आधुनिक समाज मानिए पनि त्यहाँ षड्यन्त्रका सिद्धान्तहरूले निकै महत्त्व पाउने गर्छन् ।
ट्रम्पको रुससँगको सम्बन्धबारेको हाल भइरहेको शङ्का–उपशङ्काको चर्चा भने नयाँ होइन । उनलाई यस अघि पनि रुससँग नजिक भएको तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोगमा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनाव जितेको आरोप लाग्ने गरेको छ ।

सन् २०१६ मा ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै ट्रम्प रुसी सहयोगमा निर्वाचित भएका हुन् वा होइनन् भन्नेबारे अमेरिकी समाज अपत्यारिलो ढङ्गले विभाजित भयो । त्यसपछि त्यसको निर्क्यौल गर्न अमेरिकी न्याय विभागले मुलर कमिशन गठन गर्यो ।
कमिशनले सन् २०१९ मा आफ्नो प्रतिवेदन सार्वजनिक गर्यो । त्यो प्रतिवेदन आजका दिन मुलर प्रतिवेदनका नामले चर्चित छ । प्रतिवेदनले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको अस्वाभाविक चासो देखिएको र ट्रम्पको विजय अभियानमा रुसी सरकारको अप्रत्यक्ष हात रहेको उल्लेख गर्यो ।
तर, अमेरिकी समाज त्यतिले मात्रै शान्त हुन सकेन । ‘रसिया गेट स्क्यान्डल’ का रूपमा चर्चित अमेरिकी राष्ट्रपति निर्वाचन अभियानलाई अमेरिकीकै प्रतिष्ठित केही खोजी पत्रकारहरूले चुनौती दिए र मुलर प्रतिवेदन तथा अमेरिकी निर्वाचनमा रुसी संलग्नताको भाष्यलाई डेमोक्र्याटिक पार्टीका बुद्धिजीवी, पत्रकार र इफ्लुएन्सहरूबाट निर्माण गरिएको बताए ।
जे होस्, यस विषयमा अमेरिकी समाजमात्रै होइन, विश्वभरका मानिस विभाजित छन् र, आ–आफ्नो अनुकूलको भाष्यलाई बोकेर हिँडिरहेका छन् । वर्तमान अमेरकी राष्ट्रपति ट्रम्प यदि केजीबीका एजेन्ट रहेको पुष्टि भयो भने यो विश्व राजनीतिको इतिहासमा सबैभन्दा ठुलो र आश्चर्यजनक घटनाका रुपमा दर्ज हुने निश्चित छ ।

त्यसैले अलनुर मुस्सायबको सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक भए लगत्तै अमेरिकी पत्रिकाहरू न्युयोर्क टाइम्स, वासिङटन पोस्ट, वाल स्ट्रिट जर्नल, पोलिटीको आदिले यस विषयमा विभिन्न कोणबाट समाचार प्रकाशित गरिरहेका छन् । पत्रिकामा प्रकाशित समाचार पढ्दा स्पष्ट रूपमा हो वा होइन भन्ने छुट्ट्याउन गाह्रो पर्ने हुनाले पनि यस विषयलाई एउटा रहस्यकै रुपमा विश्वभर फैलन मद्दत गरिरहेको छ ।
भनिरहनु परेन, अमेरिकी मूलधारका पत्र–पत्रिकाहरू ट्रम्पको खुलेर आलोचना गर्ने गर्छन् तर, पनि मूलधारकै केही पत्र–पत्रिकाले भने ट्रम्पलाई रुसी एजेन्टका रुपमा स्थापित गर्ने कुनै पनि प्रमाण फेला पार्न नसकिएको बताइरहेका छन् । पछिल्लो समय डोनाल्ड ट्रम्पले हालसम्म चलिरहेको रुसबारेको अमेरिकी विदेश नीतिमा १८० डिग्रीको हेरफेर गरेकाले पनि उनीप्रति शङ्काको दृष्टिकोणलाई फैलन मद्दत गरेको हुन सक्ने केही पत्रिकाहरूले लेखिरहेका छन् ।
रुस–युक्रेन युद्धमा युक्रेनलाई आर्थिक, भौतिक, कूटनैतिक तथा सैन्य सहयोग उपलब्ध गराइरहेको अमेरिका ट्रम्पको पुनरागमनसँगै रुसले कब्जा गरेको युक्रेनी भूभाग छोेडेर भए पनि रुस–युक्रेन सम्झौता हुनुपर्ने पक्षमा देखिएसँगै यसले अमेरिकाको पुरानो संस्थापन शक्तिलाई मात्रै नभएर युरोपेली शक्तिलाई पनि रुष्ट बनाइदिएको छ ।
त्यसैले होला सायद बेलायती कन्जरभेटिव सांसद ग्राहम स्टुवार्डले एक्समा लेखेका छन्, ‘हामीले राष्ट्रपति ट्रम्प रुसी एसेट हुन् भन्ने कुराको सम्भावनालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’
तर, ट्रम्प आफूले रुसका लागि कहिल्यै काम नगरेको बताउँछन् । सन् २०१९ मै यस विषयमा पत्रकारहरूसँग बोल्दै ट्रम्पले भनेका थिए– ‘मैले कहिल्यै पनि रुसका लागि काम गरेका छैन । तपाईंले यो प्रश्न सोध्नु नै लाजमर्दो कुरा हो । यो आफैँमा एउटा सबैभन्दा ठुलो झुट हो ।’
प्रतिक्रिया दिनुहोस्