किसानको दूधको पैसा भुक्तानीबारे सम्बन्धित निकायसँग छैन जवाफ

२७ माघ, भरतपुर । किसानको दूधको पैसा नियमित भुक्तानी दिने विषयमा सम्बन्धित निकायहरू स्पष्ट योजना वा समाधान दिन नसकेको सरोकारवालाले बताएका छन् ।

चितवनको भरतपुरमा जारी ‘पहिलो राष्ट्रिय डेरी एक्स्पो’मा पनि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीकै प्रतिनिधिहरूले भुक्तानी दिने विषयमा अनभिज्ञता प्रस्तुत गरे ।

frontline

३ दिनसम्म चल्ने एक्स्पोको दोस्रो दिनको छलफलमा सहभागी दुग्ध विकास संस्थानका निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले सरकारबाट ऋण अनुदान नलिइ किसानको पैसा तिर्ने अवस्था नरहेको बताए । उनले भने, ‘हामीले सरकारबाट ऋण पाए वा स्टक विदेश तथा स्वदेशमा बिक्री गर्न सकेमात्र किसानलाई रकम भुक्तानी गर्न सक्नेछौं ।’

यसैगरी, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल र नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले किसानको सबै बक्यौता भुक्तानी दिन हालको अवस्थामा सम्भव नभएको स्वीकार गरे । उनीहरूको भनाइमा यो समस्या नियतभन्दा पनि स्टक बिक्री गर्न नसक्दा आएको हो । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार किसानले दुग्ध विकास संस्थान र निजी डेरी उद्योगीहरूबाट झण्डै साढे दुई अर्ब रुपैयाँ पाउन बाँकी छ ।

छलफलमा उपस्थित किसानहरूले नेतृत्वमा रहेका र नीति निर्माणमा भएकाकै कमजोरी कारण दूधको नियमित भुक्तानी पाउन नसकेको बताए । किसान प्रदीप तिमल्सिनाले भारतबाट नेपालका उद्योगीले लुकाएर ल्याउने पाउडर दूध र डेरी उत्पादनका कारण नेपालमा समस्या उत्पन्न भएको बताए । उनले भने, ‘यदि भारतबाट पाउडर दूध ल्याउन रोक लगाइयो भने नेपालमा ‘मिल्क होलिडे’ हुने थिएन र किसानले नियमित पैसा पाउँथे ।’

चितवनको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले उद्योगीहरूले पैसा नदिएपछि सहकारीले बैंकबाट ऋण लिएर किसानलाई भुक्तानी गर्नुपरेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्रप्रसाद यादवले किसानको भुक्तानीका लागि समन्वय र सहकार्य गर्दै आएको बताए । उनले प्रविधिको प्रयोगसागै उत्पादन बढाउन बोर्ड सक्रिय रहेको जनाए ।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले किसानको कम लगानीमा धेरै उत्पादन हुने नीतिमा काम भइरहेको र पशु बिमाको समस्या समाधानका लागि विभागले सक्रियता देखाउने बताए ।
डेरीमा प्रविधि, अर्थतन्त्रमा समृद्धि’ भन्ने नारासहित चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघको आयोजनामा संचालन भएको एक्स्पो आजसम्म चल्नेछ ।

प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेसिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादन, दूध सहकारी, पशुपालनका सामग्री, आहारा, औषधि, डेरी प्याकेजिङ उद्योगका करिब सय स्टल छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here