काभ्रेको १३ स्थानीय तहको बजेट डेढ अर्ब

११ असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेका छन् ।

छ नगरपालिका र सात गाउँपालिका रहेको यस जिल्लाका अधिकांश तहले अधिवेशन गरी आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन् ।

frontline

धुलिखेल नगरपालिकाले आगामी आवका लागि एक अर्ब ३५ करोडको बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख अशोक व्याञ्जुले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ६४ करोड तीन लाख आठ हजार छ भने पूँजीगततर्फ ७० करोड ५६ लाख ९२ हजार र वित्तीय व्यवस्थातर्फ ४० लाख रुपैयाँ  रहेको छ ।

नमोबुद्ध नगरपालिकाले ले आव २०७९/८०का लागि ७४ करोड ४८ लाख ४५ हजार ९९७ बराबरको बजेट सार्वजनिक गरेको छ । दोस्रो नगरसभाको पहिलो अधिवेशनमा नगरप्रमुख कुन्साङ लामाले नीति तथा कार्यक्रम र नगर उपप्रमुख रत्नबहादुर लामाले बजेट पेस गरेका थिए ।

प्रस्तुत बजेटमा चालुतर्फ १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगततर्फ ५७ करोड ३८ हजार विनियोजन गरिएको छ । आयतर्फ आन्तरिक आय चार करोड ७२ लाख ५१ हजार ३५३, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान एक करोड नौ लाख एक हजार, राजश्व बाँडफाँट दुई करोड ६६ लाख ५५ हजार, ससर्त अनुदान दुई करोड ३६ लाख छ हजार, विशेष अनुदान ८० लाख र समपूरक अनुदान तीन करोड रहेको छ ।

यस्तै सङ्घीय सरकारबाट प्राप्त अनुदानमध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख, राजश्व बाँडफाँट नौ करोड २८ लाख ४९ हजार, ससर्त अनुदान ३१ करोड ९९ लाख, समपूरक अनुदान एक करोड रहेको छ भने अन्य आयतर्फ तीन करोड २२ लाख तीन हजार ६४४ रहेको छ ।

यसैगरी खर्चतर्फ चालु खर्च १७ करोड ४८ लाख सात हजार ९९७ र पूँजीगत खर्च ५७ करोड ३८ हजार रुपैयाँ रहेको छ । नगरले सम्पूर्ण वडामा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्न जनसङ्ख्या, क्षेत्रफल र राजश्व सङ्कलनलाई मूल आधार मान्दै सूत्रमा राखी जम्मा एकमुष्ट रकम चार करोड बजेट विनियोजन गरेको छ । वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट दुई करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पनौती नगरपालिकाको ११औँ नगरसभामा नगरप्रमुख रामशरण भण्डारीले आव २०७९/८० का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम शुक्रबार नै पारित भएको छ । यस्तै उपप्रमुख गीता बञ्जाराले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६० करोड १३ लाखको अनुमानित बजेट प्रस्तुत गरिन् । जसमा चालुतर्फ ७४ करोड २८ लाख ८० हजार, पूँजीगततर्फ रु ८५ करोड ४९ लाख २० हजार र वित्तीय व्यवस्थातर्फ ३५ लाख विनियोजन गरिएको छ ।

यसैगरी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले पनि शुक्रबार नै नगरसभा तथा दसौँ अधिवेशन सम्पन्न गरेको छ । नगरप्रमुख आगामी आव २०७९/८० का लागि नीति, कार्यक्रम र उपप्रमुख विमला सापकोटा दाहालले एक अर्ब ५५ करोड २४ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

पाँचखाल नगरको ११औँ नगरसभाबाट आगामी आव २०७९/८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । सभामा नगर उपप्रमुख सूर्यमाया दनुवारले आगाम वर्षका लागि एक अर्ब २९ करोड ९६ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।

जसअन्तर्गत ससर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, प्रदेश सरकार समपूरक र अनुदान, सडक बोर्ड, सामाजिक सुरक्षा गरी ५३ करोड ३७ लाख, ९७ हजार तथा बाँडफाँट योग्य ७६ करोड ५८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै पाँचखालको पूँजीगत खर्चमा ९४ करोड ६८ लाख ३८ हजार तथा चालुतर्फ १६ करोड, ससर्त योजनाका लागि १९ करोड २८ लाख ३८ हजार गरी कूल रु एक अर्ब २९ करोड ९६ लाख ७६ हजार रुपैयाँको बजेट पास भएको हो ।

यस्तै जिल्लाको मण्डनदेउपुर नगरले ११ औं नगरसभा तथा अधिवशेनबाट आगामी आवको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरप्रमुख टोकबहादुर वाइबाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उपप्रमुख विष्णुमणि नेपालले आगामी आवका लागि रु एक अर्ब एक करोड ९३ लाख ७२ हजार २३५ को अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

जसअन्तर्गत चालुतर्फ ४८ करोड ६६ लाख ६४ हजार ४८७ रहेको छ भने पूँजीगततर्फ ४० करोड २७ लाख सात हजार ७४८ र सामाजिक सुरक्षातर्फ रु १३ करोड रुपैयाँ रहेको छ ।

यस्तै काभ्रेपलाञ्चोकको सात गाउँपालिकामध्ये तीनले आ–आफ्ना नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । बाँकी चार गाउँपालिकाले बजेट निर्माणबारे छलफल भइरहेकाले छिट्टै सार्वजनिक गर्ने जनाएका छन् ।

रोशी गाउँपालिकाले आउँदो आवका लागि ११औँ गाउँसभामार्फत नीति, कार्यक्रमका साथै बजेट सार्वजनिक गरेको छ । अध्यक्ष दिनेश लामाले रोशीको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गर्दै पालिका केन्द्रसम्म जोड्ने प्रत्येक वडाका सडकमा बाह्रै महिना यातायात सेवा सञ्चालन गर्न जोड दिएका छन् ।

उनले गौरवका आयोजनाको निरन्तरता, पालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न तदारुकता, लघु जलविद्युत् आयोजनाको संरक्षण, स्तरीय शिक्षादेखि स्वास्थ्य सेवा तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्थासम्मका नीति कार्यक्रम प्रस्तुत गरेका छन् ।

गाउँसभामा कूल ७१ करोड ४६ लाख ८२ हजार बराबरको बजेट प्रस्तुत गरिएको हो । सभामा सङ्घीय सरकार तथा प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक स्रोतबाट प्राप्तमध्ये एक करोड ६० लाख, स्थानीय राजश्व बाँडफाँटबाट रु चार करोड ५० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट रु १० करोड २३ लाख ६३ हजार, प्रदेश राजश्व बाँडफाँटबाट रु तीन करोड ५२ लाख २८ हजार, सङ्घीय सरकार समानीकरणबाट १ करोड ६४ लाख, ससर्त अनुदान सङ्घ रु २८ करोड ५९ लाख विशेष तथा समपूरक अनुदान सङ्घको तीन करोड ७० लाख, प्रदेश सरकारको समानीकरण रु एक करोड ६ लाख १३ हजार, ससर्त अनुदान प्रदेशबाट दुई करोड ८७ लाख ७८ हजार, समपूरक तथा विशेष अनुदान सङ्घको रु तीन करोड ७४ लाख रहेको प्रस्तुत गरिएको थियो ।

यसैगरी बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख ३९ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नीति तथा कार्यक्रमसँगै प्रस्तुत अनुमानित ५९ करोड ११ लाख ३९ हजार कूल बजेटमा रु ३१ करोड पाँच लाख चालुखर्च तथा रु २८ करोड ६ लाख ३९ हजार पूँजीगत खर्च रहने जानकारी दिएका छन् ।

जिल्लाकै उच्च स्थान बेथानचोक नारायणस्थानसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेँसी खण्डमा सुरुङमार्गको अध्ययनजस्ता विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

खानीखोला गाउँपालिकाले आव २०७९/८०का लागि रु ४७ करोड चार लाख ७० हजार बजेट प्रस्तुत गरेको छ । तेमाल गाउँपालकाले आव २०७९/८० को नीति तथा कार्यक्रम शुक्रबार नै सार्वजनिक गरेको छ ।

बैठकमा गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले तेमालको समग्र विषयगत क्षेत्रको विकासबारे नीति, कार्यक्रम प्रस्तुत गरेका हुन् । बजेट निर्माण भने अन्तिम चरणमा रहेको बताइएको छ ।

यस्तै जिल्लाको भुम्लु गाउँपालिकाले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेटभने छुट्टै बैठकमा प्रस्तुत गरिने जनाइएको छ । चौँरीदेउराली गाउँपालिकाले पनि शुक्रबार आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बजेट प्रस्तुत गरेको छैन ।

गाउँपालिकाकी अध्यक्ष रेणुका चौलागाईंले बजेट निर्माणबारे आन्तरिक छलफल भइरहेकाले अर्को बैठकमा प्रस्तुत गरिने बताइन् ।

यस्तै महाभारत गाउँपालिकाले गाउँसभामा आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेसँगै बजेटबारे छलफलमा जुटेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here