काठमाडौं महानगरले सुरु गर्‍यो जीआईएसमा नक्साङ्कन

५ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले भौगोलिक सूचना प्रणाली (जीआईएस) मा आधारित नक्साङ्कन काम थालेको छ । सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न जीआईएस काम सुरु गरेको हो ।

९ पुस देखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङ्कनको काम सुरु गरेको हो ।

frontline

भवन व्यवस्था समितिका संयोजक हिरालाल तण्डुकारले यसअघि नक्सा बनाउँदाको अवस्था र आवश्यकता फेरिएर सहरले अहिले फरक भएको बताए । ‘त्यसबेलाका सूचना स्वतः अद्यावधिक नहँुदा धेरै कुरा खोजेर तथ्यांक तयार पार्नु पर्नेछ । यसका लागि काम थालिएको हो,’ तण्डुकारले भने ।

वडाध्यक्ष दलबहादुर कार्कीका अनुसार महानगरले प्रचलित नामलाई मौलिक नाममा कसरी अभ्यस्त गराउन मसिना मसिना कार्यक्रम कार्यान्वयन गर्दै बृहत नतिजा प्राप्त गर्नको लागि जीआईएसमा जान लागेको बताए ।

‘वडाहरूबाट सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न माग आएको आएकै छन्,’ कार्की भन्छन् ।

२५ सय बढी अपडेट हुन्छ

महानगरपालिकाका नापी अधिकृत इञ्जिनियर अशोक श्रेष्ठले वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ कार्यक्रमबाट २ हजार ५७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामांकन र नक्साङ्कन अवस्थालाई अद्यावधिक गरिने बताए ।

‘त्यसबेला ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो । कार्यक्रमले प्रदान गरेको भौगोलिक सूचना र सेटलाइट तस्विरको मद्दतले अहिलेसम्ममा २ हजार ४० वटा पथ, सडक, मार्ग र गल्लीको डिजिटल नक्साङ्कन र नामाङ्कन भइसकेको छ । सेटलाइट इमेजबाट यकिन हुन नसकेका पथ, सडक, मार्ग र गल्लीको डिजिटलाइज गर्न ड्रोन इमेज लिने प्रक्रिया अगाडि बढेको छ,’ श्रेष्ठले जानकारी दिए ।

कसरी हुन्छ नक्साङ्कन ?

नापी अधिकृत श्रेष्ठका अनुसार नक्साङ्कनको कामबाट सडकको इन्भेन्ट्री (सूची) तयार हुनेछ । यसमा सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन दूत सेवालगायत क्षेत्रका तथ्य र तथ्यांक हुनेछन् ।

‘अहिले सडकहरुको नक्साङ्कन गर्ने र सूची तयार पार्ने, काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरुको मौलिक र वैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन गर्नु तथा नक्साङ्कन गर्नु कार्यक्रमको लक्ष्य हो,’ उनले भने ।

उनले भौगोलिक सूचना प्रणालीमा आधारित नक्सा नहुँदा अहिले ठेगाना प्रणालीसँग सम्बन्धित तथ्यांक उपलब्ध हुन सक्ने अवस्था नरहेको बताए ।

‘महानगरपालिका र वडाका योजना एकीकृत हुन सकेको छैन । प्रशासनिक नक्सा र वडाहरुको सिमानाको अवस्था मिलेको छैन । यसैकारण भवन र पूर्वाधारहरुको यथार्थ विवरण प्राप्त हुन सक्ने अवस्था छैन । अहिले थालिएको नक्साङ्कन कार्यक्रमबाट यी अभावलाई कम गराउँदै लगिनेछ,’ उनले योजना सुनाए ।

के हुन्छ फाइदा ?

नक्साङ्कनबाट प्राप्त तथ्यांकले राजस्व विभागलाई नक्सामा आधारित वैज्ञानिक राजस्व निर्धारण गरेर व्यक्ति र संघसंस्थालाई आबद्ध गराउन सघाउ गर्नेछ । सहरी व्यवस्थापन विभागलाई घर नक्सा, यातायात र स्मार्ट टोलका लागि विश्लेषणयुक्त प्रणाली उपलब्ध हुने महानगरले जनाएको छ ।

जोखिमयुक्त स्थानको पहिचान गर्न, विपद व्यवस्थापनमा पूर्व तयारी तथा प्रतिकार्य योजना गर्न, आपतकालीन अवस्था व्यवस्थापनका तयारीका लागि विपद व्यवस्थापन विभागलाई काममा मद्दत हुनेछ । फोहरमैला संकलन, ढुवानी तथा व्यवस्थापनका लागि वातावरण व्यवस्थापन विभागलाई रुट निर्धारण गर्न सहज हुनेछ ।

नागरिकको स्वास्थ्य संस्थामा पहुँच बढाउन, रोग तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न स्वास्थ्य विभागलाई सहयोग हुनेछ । सम्पदा क्षेत्रमा पर्यटन प्रवर्धनका लागि योजना गर्न सम्पदा तथा पर्यटन विभागलाई विवरण उपलब्ध हुने महानगरको नापी विभागले जनाएको ।

ठेगानामा आधारित सामुदायिक पशुपन्छीको तथ्यांक राख्न कृषि तथा पशुपन्छी विभागलाई, सहकारीहरूको स्थान निर्धारण गरेर नियमन गर्न सहकारी विभागलाई, गरिबी उन्मुलन, सामाजिक विकासका कार्यक्रम सञ्चालन गर्न सामाजिक विकास विभागलाई, तथ्यांक विश्लेषण गर्न सूचना प्रविधि विभागलाई, सडक, पैदल मार्ग, भौतिक संरचनाहरुको योजना तर्जुमा तथा कार्यान्वयन निगरानीका लागि सार्वजनिक निर्माण विभागलाई मद्दत हुने महानगरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here