काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्ने

फाइल तस्बिर

६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित गरेर बजार अनुगमन गर्ने भएको छ । महानगरकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको छ ।

अनुगमनका क्रममा माछा-मासु पसल, डिपार्न्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादन, गोदाम, खसी बजार, तरकारी बजार हेरिने महानगरपालिको जनाएको छ ।

frontline

उपप्रमुख डंगोलले, पर्वमा व्यापारिक क्षेत्रबाट हुन सक्ने अवाञ्छनीय गतिविधि हुन नदिनु महानगरको दायित्व रहेको बताइन् ।

‘सूचकका आधारमा अनुगमन गरौं, पूर्वाधार निर्माण, महानगरमा दर्ता हुने उजुरी तथा गुनासोसँग सम्बन्धित विषय महानगरले गर्नु पर्ने अनुगमनका क्षेत्रहरु धेरै छन्,’ उपप्रमुख डंगोलले भनिन्, ‘अहिले हामी दैनिक खाद्यान्न, तरकारीलगायत उपभोग्य बस्तुको भण्डारण, मूल्य र बजारलगायतका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।’

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जनताको दैनिक जीविकासँग सम्बन्धित क्षेत्रमा सरोकारवाला निकायसँगको समन्वयमा अनुगमन गर्नुपर्नेमा जोड दिए ।

‘अनुगमनको जिम्मेवारी प्राप्त गरेका निकाय आफू एक्लै सबै क्षेत्रमा पुग्न सम्भव हुँदैन । त्यसैले क्षेत्र निर्धारण र विभाजन गरेर अनुगमनलाई प्रभावकारी बनाउनु पर्छ’ अधिकारीले भने ।

त्यस क्रममा वाणिज्य तथा आपूर्ति विभागका महानिर्देशक महेश भट्टराईले स्थानीय बजार व्यवस्थापनका लागि महानगरको नेतृत्वमा हुने कामलाई विभागले सहयोग गर्ने बताए ।

काठमाडौं महानगरपालिकाले २०७७ माघ २४ गते ‘काठमाडौ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरिसकेको छ ।

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैंले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्ने व्यवस्था छ ।

यसबाट स्वच्छ तथा गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुने महानगरको अपेक्षा छ । महानगरले खाद्य निरीक्षक राख्ने योजना बनाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here