काठमाडौं बस्ने थारूहरूले मनाए गुरही पर्व

१८ साउन, काठमाडौं । काठमाडौं बस्ने थारूहरूले गुरही पर्व मनाएका छन्। भृकुटीमण्डपस्थित रिपोर्टस् क्लबमा आयोजित कार्यक्रममा थारू समुदायका युवायुवतीले गुरही ‘असराए’का हुन्।
पश्चिम तराईका थारू समुदायका बालबालिकाहरूले मनाउने यो पर्व पछिल्लो समय युवा पुस्ताले पनि मनाउन थालेका छन्।




चम्पन साँस्कृतिक समूहका अध्यक्ष एवं कार्यक्रम संयोजक नन्दुराज चौधरीले गुरही पर्वलाई प्रवद्र्धन गर्न काठमाडौंमा मनाएको बताए। उनले २०७३ सालदेखि गुरही मनाउँदै आए पनि बीचमा कोरोना महामारीले गर्न नसकेको बताए।
‘हामीले कोरोना महामारीअघि ४ वर्ष लगातार गुरही मनाएका थियौं। २ वर्षपछि फेरि मनाएका छौं। हाम्रो उद्देश्य भनेकै यो पर्वलाई बचाउनु हो। नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हो,’ उनले भने।
कार्यक्रममा शिव चौधरीले गुरहीबारे कार्यत्रपत्र प्रस्तुत गरे। उनले पछिल्लो समय यो पर्व लोप हुँदै गएको बताए। पुस्तान्तरण गर्न भए पनि यसलाई बचाउनुपर्ने उनको भनाइ थियो। ‘केही वर्षअघिसम्म यो पर्व हाम्रा गाउँ घरमा उल्लासमय वातावरणमा मनाइन्थ्यो।
तर, हाम्रा छोराछोरी अहिले आधुनिकतामा रमाउन थालेका छन्। हामीले पनि छोराछोरीलाई आफ्नो सँस्कृतिबारे बताउन हिचकिचाइरहेका छौं।
अब पनि हाम्रा चाडपर्वको संरक्षण नगर्ने हो भने लोप भएर जानसक्ने खतरा छ,’ उनले भने। उनले सरोकारवालाहरूको यसतर्फ ध्यानाकर्षण गराए।
के हो गुरही पर्व ?
नागपञ्चमीको दिनमा मनाइने यो पर्वले भाइ र बहिनीबीचको प्रेम र अटुट सम्बन्धलाई स्मरण गराउने थारू लेखक दिलबहादुर चौधरी बताउँछन्।
‘भाइ बहिनीबीचको माया प्रेमको प्रतीकको रूपमा मनाइने यो पर्वमा केटी/महिलाले गुडिया (पुतला) अर्थात् गुरिया फाल्ने गर्छन् र केटा–पुरुषले सोंटा, कोर्रा, लट्ठीले हिर्काउँछन् र दुवै पक्ष रमाउँछन्,’ उनी भन्छन्, ‘अर्थात् भाइ र बहिनीले वा महिला, पुरुषले पुतलासँगै दुर्गुण, अवगुणलाई फाल्ने, रोगब्याध, दुःख कष्टलाई फाल्ने र नसताओस् भनी कामना गर्ने, गल्ती नदोहोर्याउने वाचा गर्ने, आपसमा माया प्रेम साट्ने, स–साना बालबालिकाहरूप्रति माया दर्साउने पर्व हो।’
गुरहीसम्बन्धी विभिन्न किम्बदन्ती रहेको लेखक चौधरीको भनाइ छ। चौधरीका अनुसार ‘एक किम्बदन्तीमा एक जना व्यक्ति त्यौहार मान्न आफ्नो बहिनीलाई बोलाउन गएको थियो। बहिनीको बिहे धनी घरमा भएको थियो। गरिब दाजुलाई देखेर उनी मान मर्यादामा बेवास्ता गरिन्।
उनको बेवास्ता र अपमानका कारण दाजु घर फिर्ता भए। बहिनी एक्लै माइती आइन्। बहिनीको बानीव्यहोराका कारण माइती पक्षले पनि जति गर्नुपर्ने हो, मान मर्यादा गरेन।
बिदाइको दिनमा माइती पक्षले बहिनीलाई नदी पार गरेपछि अब कहिल्यै नआउनु भनी बिदाइ गरे। बिदाइको दिनमा नागपञ्चमी थियो। त्यसबेलादेखि नै कपडाको गुरिया (गुरही)लाई पिट्ने र नदीमा सेलाउने चलन चलेको हो भन्ने भनाइ पनि छ।
प्रतिक्रिया दिनुहोस्