काठमाडौंका सडकमा किन भ्वाङ पर्छ?
– आइतबार काठमाडौंको नयाँ बानेश्वर चोकबाट शंखमूलतर्फ जाने सडकमा भ्वाङ परेको छ। सडकमुनि रहेको खानेपानीको पाइप चुहिएपछि सुरुमा सानो प्वाल देखिए पनि पछि बढेर भ्वाङ परेको थियो ।
– सडक विभागका अनुसार आइतबार नै नारायणगोपाल चोकनजिकै पनि सडकमा भ्वाङ परेको थियो।
– गत साउन २५ गते काठमाडौंको कमलादीनजिकै काठमाडौं प्लाजातर्फ बाटोमा भ्वाङ थियो। उक्त भ्वाङमुनि टुकुचा खोला बगिरहेको छ। टुकुचा खोलाको कल्भर्ट कमजोर भएपछि सडकमा भ्वाङ परेको सडक विभाका इन्जिनियरहरूको भनाइ छ।
– गत साउन ३० गते ललितपुरको इमाडोलतर्फ जाने सडकमा भ्वाङ पर्यो। उक्त सडक झन्डै चार मिटर भासिएको छ।
– गत असार १९ गते नयाँबजारमा बनेको ११ फिट गहिरो खाडलमा मोटरसाइकल नै खस्यो। उक्त खाडलबाट निकै मुस्किलसँग मोटरसाइकल चालक उम्किए। मोटरसाइकल निकाल्न भने महानगर र सशस्त्र प्रहरी बलको उद्धार टोली नै खटिनुप¥यो।
– गएको वर्ष २०८० माघ १२ गते माइतीघर–तीनकुने खण्डको नयाँ बानेश्वरस्थित सडक शुक्रबार भासिएको छ। तीन वर्ष अघि पनि त्यही खण्डमा सडक भासिएको थियो। मूल सडकको अवस्था त यस्तो नाजुक छ भने भित्री सडकको अवस्था झनै दयनीय छ।
उल्लिखित उदाहरणहरूबाट प्रस्ट हुन्छ, राजधानीका सडक निकै कमजोर छन्। अर्थात् कमजोर संरचनामा बनाइएका छन्। कति बेला सडक भ्वाङ परी दुर्घटनामा परिने हो भनेर यात्रुहरूलाई थाहै हुँदैन। काठमाडौंका सडकमा एकातिर खाल्डाखुल्डी छन् भने अर्कातिर भ्वाङ पर्ने समस्या छ।
विज्ञहरू काठमाडौं उपत्यका र पोखराको मोटा नै कमजोर भएको, चट्टान नभएको, त्यसमा पनि खानेपानी र ढलका पाइप लिकेज हुँदा सुरुमा लिकेज भएको पाइपले नजिकैको माटो तान्ने, त्यसपछि माटो बगाउन थाल्ने र भ्वाङ पर्ने बताउँछन्। तर सडकमा भ्वाङको मुख्य कारण भनेको सडक संरचना कमजोर हुनु नै भएको उनीहरूको भनाइ छ। कमजोर माटो भएको ठाउँमा सडक बनाउँदा सबै संरचना बलियो पार्नुपर्ने विज्ञहरूको भनाइ छ।
‘इन्जिनियर र ओभरसियरहरूले सधैंभरि बनिरहेको सडकमा बसेर अनुगमन गर्दैनन्। त्यस्तो मौका छोपेर ठेकेदारहरूले लटरपटर गर्ने र कमसल सामग्री प्रयोग गर्ने सम्भावना हुन्छ,’ पूर्वसचिव तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजंग थापाले भने, ‘ढलको हेमपाइप र खानेपानीको पाइप लिकेज भएपछि पनि सुरुमा लिकेज भएको पाइपले माटो आफूतिर तान्छ, पछि त्यसैले माटो बगाउन थाल्छ। त्यसबाट सडकमा बिस्तारै भ्वाङ पर्न थाल्छ।’
सडक विभाग र काठमाडौं महानगरबीचको विवादका कारण आवश्यक समन्वय हुन नसक्दा पनि यस्ता समस्याहरू आउने गरेको उनको भनाइ छ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले भने विभागले बनाएका सडकमा भ्वाङ पर्ने र भासिने त्यति समस्या नभएको बताए। नयाँ बानेश्वर र नारायणगोपाल चोकमा भएको भ्वाङको विषयमा अध्ययन गर्दा खानेपानीको पाइप चुहिएर भ्वाङ परेको बुझिएको उनले जानकारी दिए। विद्युत् प्राधिकरणले तार अन्डर ग्राउन्डिङ गर्दा राम्रोसँग फिलिङ नगरेकाले पनि यस्तो समस्या आएको उनको भनाइ छ। जिओ टेक्निकल (भूगर्भ इन्जिनियर) तथा भौतिक पूर्वाधार मन्त्रालयका पूर्वसहसचिव नरेशमान शाक्यले काठमाडौं र पोखराको माटो नै कमजोर भएर यस्तो समस्या आएको बताए।
‘पोखरामा भित्रभित्रै सेती बगिरहेको छ। त्यसैले त्यहाँको माटो कमजोर छ। काठमाडौं उपत्यकाकाको माटो प्राकृतिक रूपमै कमजोर छ,’ उनले भने, ‘यस्तो कमजोर माटोमा संरचना बनाउँदा बलियो बनाउनुपर्छ। संरचना नै कमजोर भएपछि भ्वाङ पर्छ।’
इतिहासकारका अनुसार काठमाडौंमा सुरुमा ताल थियो। तालको पानी निकास भएपछि बस्न योग्य ठाउँ बन्यो। त्यसैले यहाँको माटो सुरुदेखि नै कमजोर छ। चट्टान छैन। जसका कारण वर्षाको पानीले माटो झनै कमजोर बन्छ।
‘वर्षाको पानी भित्रभित्रै बगिरहेको हुन्छ। त्यसले गर्दा माटो कमजोर हुन्छ। त्यसमा पनि ढल र खानेपानीको पाइप लिक हुँदा माटो बग्ने गर्छ,’ शाक्यले भने, ‘त्यस्तो अवस्थामा सडकमा भ्वाङ पर्ने गर्छ।’
काठमाडौंका केही ठाउँ बस्ती बसाउन त्यति योग्य छैनन्। जस्तो कि काठमाडौंका केही ठाउँको नाम नै डोल राखिएको छ। जस्तै इमाडोल, बागडोललगायत नाम छन्। नेवारी भाषामा डोल भनेको पानी जम्ने ठाउँ हो। पानी जम्ने ठाउँमा सडक बनाउँदा यसको संरचना बलियो हुनुपर्छ।
काठमाडौंको सडक नाजुक रहेको विषय उठ्दा सडक हेर्ने जिम्मेवारी लिएका निकायहरू एकअर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने गरेका छन्। ती संस्थाका अधिकारीहरू आफ्नो जिम्मेवारीमा रहेका सडकहरूमा समस्या नरहेको दाबी गर्न छाड्दैनन्। काठमाडौं उपत्यकामा रहेका सडकको स्तरोन्नति तथा मर्मतसम्भार गर्न भनेर ३० भन्दा बढी निकायले हेर्ने गरेका छन् तर सडकको अवस्था बिजोग छ।
प्रतिक्रिया दिनुहोस्