काठमाडौँ महानगर प्रहरीका ८ इन्सपेक्टर सहित १६ जनाले किन दिए राजीनामा ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कार्यरत १६ जना नगर प्रहरीले पदबाट राजीनामा दिएका छन् । विगत एक साताको अवधिमा महानगर प्रहरीका जुनियर तथा सिनियर अधिकृतहरूले राजीनामा बुझाएका हुन् ।
वृत्ति विकासको अवसर नपाएको र वर्षौँदेखि एउटै पदमा खुम्चिएर काम गर्नुपरेको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले कुल १६ जनाले राजीनामा दिएको पुष्टि गरे । महानगर प्रहरी प्रमुख जोशीका अनुसार राजीनामा दिनेहरूमा आठ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक) छन् । यस्तै पाँच जना सई (प्रहरी नायब निरीक्षक) र तीन जना असई (प्रहरी सहायक निरीक्षक) छन् ।
राजीनामा दिने कुनै पनि नगर प्रहरीको ३० वर्षे सेवा अवधि पूरा नभएको र ५५ वर्षे उमेर हदसमेत ननाघेको जोशीले स्पष्ट पारे । उमेर र सेवा अवधिका हिसाबले काम गर्न सक्ने उमेरमै रहेका पुराना र अनुभवी अधिकृतहरूले नै राजीनामाको बाटो रोजेका हुन् ।
प्रहरी प्रमुख जोशीले भने, ‘वर्षौंदेखि एउटै पदमा बस्नुपरेको र वृत्ति विकासको कुनै अवसर नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । मैले उनीहरूको वृत्ति विकासका लागि सम्बन्धित ठाउँमा कुरा राखिरहेको छु र छलफल पनि भइरहेको छ, तर धेरै साथीहरू थप काम गर्न अनिच्छुक देखिनुभयो ।’ राजीनामा दिएका अधिकृतहरूको राजीनामा स्वीकृत हुने प्रक्रियामा रहेको समेत उनले जानकारी दिए ।
राजीनामा दिएका एक नगर प्रहरी अधिकृतले वृत्ति विकासका लागि कुनै पहल नभएपछि बाध्य भएर जागिरबाट राजीनामा दिन बाध्य भएको रातोपाटीलाई बताए । उनले भने, ‘नगर प्रहरीको वृत्ति विकासका लागि महानगरले ध्यान नै नदिने अनि हामी चाहिँ एउटै पदमा बसेर रातदिन मिहिनेत गर्ने ? अब बसेर काम छैन भने राजीनामा दिएका हौँ ।’
उनले वृत्तिविकासको काम प्रदेश सरकार, महानगरको कार्यपालिकाले गर्ने नभई महानगरकै प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहने ‘पदपूर्ति समिति’ ले गर्ने व्यवस्था रहे पनि महानगरले आलटाल गरेको आरोप लगाए ।
प्रमुख प्रशासकीय अधिकृत अर्याल आफ्नै दाबी
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति अर्यालले भने वृत्ति विकासको अवसर नपाएको झोकमा १७ जना नगर प्रहरीले सामूहिक राजीनामा नदिएको जिकिर गरे । राजीनामा दिनुको मुख्य कारण उनीहरूको उमेर र सेवा अवधिको हदबन्दी रहेको उनको दाबी थियो । ‘उहाँहरूले वृत्ति विकास नभएर राजीनामा दिएको भन्ने कुरा सत्य होइन, ३० वर्षे सेवा अवधि वा ५५ वर्षे उमेर हद पुगेर अवकाशमा जान लागेका कर्मचारीहरूले राजीनामा दिनुभएको हो,’ अर्यालले मंगलबार रातोपाटीसँग भने ।
संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) ले गरेको व्यवस्था अनुसार हाल नगर प्रहरीलाई स्थायी नियुक्ति गर्न नसकिने र करारमा मात्र लिनुपर्ने कानुनी बाध्यता रहेको उनले बताए । करारका कर्मचारीलाई माथिल्लो तहमा बढुवा (वृत्ति विकास) गर्न नमिल्ने उनको भनाइ थियो ।
विगतमै स्थायी भइसकेका पुराना नगर प्रहरीहरूको बढुवा कसरी गर्ने भन्ने विषयमा भने महानगरले प्रक्रिया खोजिरहेको उनले जानकारी दिए ।
‘पहिले नै स्थायी भएकालाई कसरी बढुवा गर्ने भन्ने समस्या छ । महानगरकै कर्मचारीले आफैँ बढुवा गर्न मिल्दैन, यसका लागि लोक सेवा आयोगको परामर्श वा संलग्नता आवश्यक पर्छ,’ उनले भने ।






प्रतिक्रिया दिनुहोस्