काठमाडौँ प्रहरी परिसरमा रेकर्ड भएको बेन–इनम कनेक्सन खुलाउने यो भिडिओ
सम्पत्ति शुद्धीकरण कसुरमा प्रहरी हिरासतमा रहेका बिचौलिया इनम सापकोटामाथिको अनुसन्धानमा सरकार पक्षबाट हस्तक्षेप भएको पाइएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) ले प्रहरी अनुन्धान प्रभावित पार्न सापकोटाको मोबाइल अनधिकृत प्रयोग गरेको खुलिसकेको छ।
गत असोज १४ मा इनम पक्राउ परे लगत्तै उनको मोबाइल बेनको हातमा पुगेको फरेन्सिक परीक्षण रिपोर्टबाट पनि देखिइसकेको छ।
इनम र बेनबीच केही महिनादेखि विभिन्न विषयमा कुराकानी भइरहेको विवरण मोबाइलमा भेटिएको यसबारे जानकार सुरक्षा अधिकारीहरूले बताएका छन्। बेनको साथमा मोबाइल रहेको बेला पनि त्यही मोबाइलमा इनमसँग कुराकानी भएको भेटिएको छ।
जस्तो १ अक्टोबारमा अपराह्न ४:५७ बजे बेनको मोबाइल नम्बरबाट इनमलाई ‘हलो’ भनेर म्यासेज गरेको देखिन्छ। दुई घण्टापछि साँझ ६:५७ बजे इनमको नम्बरबाट ‘हलो’ भनेर जवाफ आउँछ। बेनले ‘आर यु इनम सापकोटा’ भनेर लेख्छन्। ‘एस’ लेखेर जवाफमा आउँछ।
त्यसपछि बेनको नम्बरबाट ‘डू यु नो कुमार बेन’ भनेर सोधिन्छ। जवाफ ‘नो आइ डन्ट’ आउँछ।
इनमको नम्बरबाट बिना प्रसंग उमेश श्रेष्ठको विद्यार्थी भएको म्यासेज पठाइएको छ। त्यसपछि फेरि बेनको नम्बरबाट ‘डू यु नो पीएम बालेन पर्सनली’ भनेर सोधिएको छ। जवाफमा ‘नो आइ डन्ट’ लेखिएको छ।
त्यसपछि संवाद छैन। उक्त संवाद बेनले इनमको मोबाइल लिएर आफै लेखेको जस्तो देखिन्छ। बेनको घरमा इनमको मोबाइल रहेको तथ्य नेपालखबरलाई प्राप्त भिडिओबाट पनि पुष्टि हुन्छ।
भिडिओ-
https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Freel%2F28501024482933064%2F&show_text=false&width=560&t=0
गत असोज १६ मा प्रधानमन्त्रीका सरकारी मामिला तथा योजना समन्वय संयोजक विशाल अधिकारी जिल्ला प्रहरी परिसर, काठमाडौं पुगे। त्यतिबेला इनमको मोबाइल अनुसन्धान अधिकृतबाट बेनको हातमा पुगिसकेको देखिन्छ।
विशालले जिल्ला प्रहरी परिसर, काठमाडौंको मुद्दा शाखाका डीएसपी राजु अधिकारीसँग इनमको अनुसन्धानबारे सोधिखोजी गरेको भिडिओ नेपालखबरले सार्वजनिक गरिसकेको छ। असोज १६ गते (२ अक्टोबर) साँझ ६ः३३ बजे विशालले डीएसपी अधिकारीलाई इनममाथि भइरहेको अनुसन्धानको सोधिखोजी गरिरहेका देखिन्छ।
नेपालखबरलाई प्राप्त भिडिओमा डीएसपी अधिकारीले ‘सबै काम अहिले नै सकेर कहाँ कहाँ पठाउनुपर्ने, के के गर्नु पर्ने, अहिले नै ड्याकडुक गर्ने’ भन्छन्। त्यसपछि विशालले ‘के आयो नयाँ कुरा’ भनेर सोध्छन्। जवाफमा डीएसपी अधिकारीले ‘मोबाइल आउँछ कि भन्ने आशा छ, त्यसपछि थप काम हुन्छ’ भनेको सुनिन्छ।
इनमको मोबाइल आफूसँग नभएको डीएसपीले बताएपछि विशालले चासो राख्छन्। विशालले ‘मोबाइल कहाँ छ?’ भनेर सोध्दा केही समय अन्य विषयमा कुराकानी मोडेका डीएसपी अधिकारीले कुमार बेनकोमा भएको सानो स्वरमा सुनाउँछन्। भिडिओमा यसो भनेको बडो मुस्किलले सुनिन्छ।
बेनले प्रहरी हिरासतमै रहेका इनमको मोबाइल लगेकोमा विशालको कुनै चासो देखिन्न। उनी अनुसन्धानमा को-को जोडिए भन्नेमा केन्द्रित हुन्छन्। विशालले कांग्रेस नेताहरू उमेश श्रेष्ठ र दिपक खड्का जोडिएको विषयमा सोध्छन्।
इनमबारे भेटिएका प्रमाण आफ्नो मोबाइलबाट डीएसपी अधिकारीले विशाललाई देखाउँछन्। त्यसपछि पनि उनीहरूबीच इनमको अनुसन्धानको आगामी प्रक्रियाबारे कुराकानी भएको भिडिओमा सुनिन्छ।
इनममाथिको अनुसन्धानमा गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्की र प्रधानमन्त्रीको सूचना प्रविधि परामर्शदाता बताउने चिराग श्रेष्ठ पनि जिल्ला प्रहरी परिसर, काठमाडौंको मुद्दा शाखामा पुगेर हस्तक्षेप गरेको एक प्रहरी अधिकृतले नेपालखबरलाई बताए।
‘इनम सापकोटालाई पक्राउ गरे लगत्तै प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयले असाध्यै चासो राख्यो। त्यो अहिले पनि जारी छ। को कति जना आए भन्ने ठ्याक्कै नाम लिस्ट त मसँग छैन,’ ती अधिकारीले नेपालखबरलाई भने, ‘तर, उहाँहरू आइराख्नु हुन्छ। हामीसँग अनुसन्धानबारे चासो मात्र दिराख्नु भएको छैन, इनम सापकोटासँग भेटघाट पनि गरिराख्नुहुन्छ।’
इनमको हिरासत बसाइँ र खानपानमा समेत प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले चासो राख्ने गरेको ती अधिकारीले बताए।
इनम प्रकरणको कडी भने गत असोज ११ को मध्यरातमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट टेकुस्थित प्रहरी कार्यालय लगिएको घटनासँग जोडिन्छ। प्रहरीले उनलाई सुरक्षाका कारण निणन्त्रणमा लिएको जनाएको थियो।
पूर्वप्रधानन्यायाधीश जबरालाई १२ घण्टापछि छाडिएको थियो। जबराको ह्वाट्सएप हेर्दा इनमसँग नियमित सम्पर्क भेटिएको थियो। त्यसपछि असोज १४ गते दिल्ली जान लाग्दा इनम त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।
बिचौलिया इनमसँगको सम्पर्क र कारोबारको कनेक्सनले एकपछि अर्को व्यक्तिलाई अनुसन्धानको दायरामा तानिराखेको छ। अनुसन्धानमा तानिने व्यक्तिको सूची बढ्दै गए पनि अहिलेसम्म अदालतमा कुनै अभियोगपत्र दर्ता भएको छैन।
इनमसँगको सम्पर्क र कारोबारको आधारमा अनुसन्धान अघि बढाउँदै जाँदा सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदमुक्त गरेको थियो। त्यस्तै, पूर्वन्यायाधीश नवराज थपलिया र व्यवसायी दीपक तिमिल्सिनाको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको थियो।
यसैगरी, सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले सुशील भट्टलाई पनि पक्राउ गरेको थियो। हिरासतमै रहेका व्यवसायी दीपक भट्टका दाजु सुशीलमाथि अनुसन्धान जारी छ।
भर्खरै कात्तिक २८ मा नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका माइला भाइ महेश श्रेष्ठ पनि अनुसन्धानमा तानिएका छन्। इनमसँगको सम्पर्क, विभिन्न कारोबारमा साझेदारी र बैंकिङ अभिलेखमा देखिएको कारोबारका आधारमा महेशलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
त्यस्तै, प्रधानन्यायाधीश मनोजकुमार शर्मा, सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र रास्वपा सांसद विश्वराज पोखरेल समेत इनम प्रकरणमा मुछिएका छन्। प्रधान्यायाधीश शर्मा र सांसद पोखरेलले इनमसँग सम्पर्क नै नभएको दाबी गरिरहँदा न्यायाधीश फुयालले भने उनलाई भेटेको स्वीकारेका छन्। कुनै आर्थिक कारोबार नभएको र न्यायिक निर्णय प्रभावित पार्ने सहमति पनि नभएको फुयालको भनाइ छ।
इनम प्रकरणमै सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको छ। उनी यसका विरुद्ध सर्वोच्च अदालत पुगेका छन्। उनलाई हटाएर मनोज केसीलाई आईजीपीको बनाइएको छ
कार्कीको जिम्मेवारी हेरफेरमा पनि इनम कारक बनेको प्रधानमन्त्री निकट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू बताउँछन्। इनमका दुई वटा मोबाइल फरेन्सिक परीक्षणअघि प्रधानमन्त्रीका मुख्य सल्लाहकार बेनको घरमा दुई दिन राखिएको तथ्य बाहिरिएपछि सरकारले कार्कीको जिम्मेवारी खोसेको हो।
यसका विरुद्ध सर्वोच्च अदालत पुगेका कार्कीको रिटमाथि कात्तिक ३० गते पेसी तोकिएको थियो। तर, सरकारले सो दिन सोमबार छठका लागि सार्वजनिक बिदा दिएपछि कार्कीको पेसी अनिश्चित भएको छ। उनको पदावधि १७ महिना बाँकी रहेको थियो।
इनमसँगको सम्बन्धनलाई लिएर प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनमाथि अनुसन्धानका लागि दबाब बढ्दो छ। विपक्षी दलहरूले अनुसन्धानको निष्पक्षता र सरकारको भूमिकामाथि थप प्रश्न उठ्न थालेका छन्। गम्भीर आरोप सार्वजनिक हुँदासमेत बेनमाथि अनुसन्धान सुरु नभएकोमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर प्रश्न उठाइराखेको छ। बेनमाथि मुलुकी अपराध संहिताका दफा ९२ र ९३ अन्तर्गत प्रमाण नष्ट गर्ने तथा न्यायमा बाधा पु¥याउने कसुरमा अनुसन्धान गर्न कांग्रेसले माग गरेको छ।
सत्तारुढ रास्वपा भने बेनसँग जोडिएको विवाद प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने भन्दै पन्छिएको देखिन्छ। बेनको निवासमा इनमको मोबाइल फोन भेटिएको विषय सरकारकै क्षेत्राधिकारभित्र पर्ने रास्वपा प्रवक्ता जगदिश खरेलको भनाइ छ।
‘पार्टीले सरकारका आन्तरिक कामकारबाही र सरकारी निकायका विषयमा अनावश्यक हस्तक्षेप गर्नुभन्दा प्रधानमन्त्रीज्यूलाई नै आवश्यक निर्णय लिन दिनुपर्छ भन्ने हाम्रो बुझाइ छ,’ आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा खरेलले भने, ‘प्रधानमन्त्रीज्यूले कुनै विषयमा गल्ती भएको र आवश्यक कदम चाल्नुपर्ने महसूस गर्नुभयो भने उहाँले लिने निर्णयमा पार्टीको पूर्ण समर्थन र सहयोग रहनेछ।’






प्रतिक्रिया दिनुहोस्