कांग्रेस महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित, नीति अधिवेशन अलपत्र

२ असार, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित रह्यो । कांग्रेसले वैधानिकता जोगाउने चुनौतीबीच गत मंसिर २८ गते महाधिवेशन सम्पन्न गर्यो । नेतृत्व महाधिवेशन सकिएको ६ महिना बितिसक्दा पनि नीति महाधिवेशनको विषय भने अलपत्र परेको छ ।

कांग्रेसले वैधानिकता जोगाउन भन्दै ६ महिनापछि नीतिगत समीक्षा र भावी नीतिका विषयमा छलफल गर्ने भनेर नीति महाधिवेशनलाई थाती राख्यो । सोही अनुरूप मंसिरमा पार्टीको नेतृत्व मात्र चयन गर्यो । नीति महाधिवेशन नहुँदा कांग्रेसमा संसदीय बोर्डले पूर्णता पाएको छैन।

frontline

‘बोर्डमा वरिष्ठ नेता रामचन्द्र पौडेल एक जना मात्र छन् । कार्यसम्पादन समिति पनि अपूर्ण छ । विभागहरू गठन हुन सकेका छैनन् । सभापतिले कोषाध्यक्ष पनि बनाउन सकेका छैनन्। नीति प्रशिक्षण प्रतिष्ठान अलपत्र जस्तै छ।  भ्रातृ संस्थाको विधान उल्लंघन भएर अनुशासनहिनतामा चलिरहेको छ,’ पौडेलले भने ।

भ्रातृ संस्थाका अगुवाहरू मात्र मनोनीत गरिएका छन्। पूर्ण समिति अलपत्रै छ।  विधानको उल्लंघन भएको रमिते भएर हेर्नुको विकल्प अहिले कांग्रेस शीर्ष नेतृत्वसँग अरू छैन । पार्टीको महाधिवेशन सम्पन्न भएको असार १०  गते ६ महिना पूरा हुन्छ ।

यतिका समय नीति महाधिवेशनका बारेमा कांग्रेसभित्र छलफल सम्म पनि भएको छैन । १४औं महाधिवेशन नीति महाधिवेशन नगरी सकिएको थियो । महाधिवेशन समयमा गर्न नसक्दा वैधानिकता जोगाउने प्रयासमै प्रमुख चुनौतीबीच सम्पन्न भएको थियो।

१३औं महाधिवेशनमा नीतिका विषयमा पार्टीको राजनीतिक प्रतिवेदन र पार्टीको आगामी कार्यदिशाका बारेमा सामान्य चर्चा भने भएको थियो । कांग्रेसको विधान दफा १७ को उपदफा ५ बमोजिम गत महाधिवेशनलाई कांग्रेसले नेतृत्व चयनको एजेन्डामा मात्रै केन्द्रित गरेको थियो ।

सो दफामा उल्लेख भएअनुसार  ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्न र नीति निर्माण तथा विधान पारित गर्न फरक–फरक समयमा महाधिवेशन गर्न सकिने’ दफामा उल्लेख छ।

नेतृत्व महाधिवेशनअघि गत कात्तिक २८ गते बसेको बैठकले १४औं महाधिवेशन नेतृत्व केन्द्रित गर्ने र त्यसको ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकको निर्णयअनुसार भने कांग्रेस अघि बढ्न नसकेको कांग्रेसकै नेताहरू स्वीकार्छन्।

कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नीति महाधिवेशन गर्ने समय गुज्रिन लागेको बन्दै भने, ‘स्थानीय चुनावपछि सभापति ज्यूलाई भेट्न पनि पाइएको छैन । हामी सहमहामन्त्री संख्याको हिसाबमा पनि धेरै छौं। अब छिटै अमेरिका भ्रमणमा पनि जाँदै हुनुहुन्छ। नीति अधिवेशनका लागि समय घर्किसकेको छ।’

पाण्डेले भने, ‘नीति अधिवेशनको मात्र कुरा हैन भ्रातृ संगठनलाई पूर्णता दिनुपर्ने काम यतिकै छ। संसदीय समितिले पनि पूर्णता पाएको छैन। असार १० गते  पार्टीले नयाँ कार्यसमिति पाएको ६ महिना पूरा हुन्छ ।’ कांग्रेस नेता गुरूराज घिमिरे विधानमा भएको विषय नीति महाधिवेशनको विषय अनौपचारिक रूपमा आफूहरूले उठाउँदै आएको बताएका छन् ।

‘कहिले स्थानीय चुनाव, कहिले प्रदेश र प्रतिनिधिसभा चुनावको बहानामा नीति महाधिवेशन रोक्न मिल्दैन। चुनाव नियमित प्रक्रिया हो। बहाना बाजी गर्दै गएर ५ वर्षभरि पार्टी कसरी सञ्चालन हुन्छ ? भदौमा मिति तोकेर तयारी सुरू गर्दा हुन्छ ।

यसले आगामी चुनावमा सहयोग पनि पुग्छ,’ उनले भने, ‘नीति अधिवेशन पार्टीकै कार्यकर्ताहरूको प्रश्नहरूको जवाफ पनि हो । धेरै साथीहरूका असन्तुष्टि र कुण्ठा छन्। ती सबै पोखिने ठाउँ हो।’

कांग्रेसले लिने नीतिबारे पर्याप्त छलफल र बहस आवश्यक छ। ‘तत्काल नीति महाधिवेशन बोलाउने विषयमा नेतृत्वले विचार गरून्। हामीले नेतृत्व छान्यौं तर अब प्रष्ट नीति कार्यक्रम ल्याउनुपर्छ,’ कांग्रेसकै युवा नेता कुन्दनराज काफ्लेले भने, ‘पार्टीले लिने नीतिबारे पर्याप्त छलफल र बहस जरुरी भएकोले तत्काल नीति महाधिवेशन बोलाउनुपर्ने बताउँछन् ।

संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वयनका लागि कांग्रेसले लिने नीतिबारे पर्याप्त छलफल आवश्यक छ।’

त्यसो त अहिले कांग्रेस नीतिविहीन अवस्थामा चलिरहेको छ । पार्टीको चुनावी घोषणा पत्रमा नीति, दृष्टिकोण, विगत र वर्तमानको कुरा सबै समाहित गरिएकाले पनि कांग्रेसलाई नीति महाधिवेशन तत्काल आवश्यक नभएको कांग्रेसका शीर्ष नेताले बताए। कांग्रेस नेतृ चित्रालेखा यादवले भनिन्, ‘संविधानले शिक्षा, स्वास्थ्य, आवासजस्ता विषयलाई मौलिक अधिकार माने पनि त्यसको कार्यान्वयनका लागि कांग्रेसले नीति निर्माण गर्नुपर्छ।’ 

पार्टीको नेतृत्व चयन महाधिवेशन सकिए लगत्तै कांग्रेसका महामन्त्रीहरूले नीति महाधिवेशनको विषय प्राथमिकतामा राखेको बताए पनि उनीहरू नै यो विषयमा फर्केर हेर्न भ्याएका छैनन् ।

यद्यपि, पार्टीका उपसभापति धनराज गुरूङ पार्टीको अगामी बैठक बस्दा नीति महाधिवेशनको विषयले प्राथमिकता पाउने बताउँछन्। गुरुङका अनुसार पार्टीको आगामी बैठकमा नीति महाधिवेशनको विषय जान्छ ।

हतारमा नीति महाधिवेशन गर्ने कुरा हैन। यसमा बृहत् छलफल आवश्यक छ। साझा रूपले पार्टीले नीति बनाउँछ। अबको बैठकमा नीति महाधिवेशनलगायतका एजेन्डामा छलफल गर्छौं।’

कांग्रेस नेता प्रदीप पौडेल महाधिवेशनबाट नीति र नेतृत्व चयनलाई छुट्टाउने निर्णय नै गलत भएको बताउँछन्। ‘पार्टीले नीति नै नहेरी नेतृत्व चयन गरिसकेको छ। अब कस्तो छुट्टै नीति महाधिवेशन भन्ने हुन्छ ? नीति र नेतृत्व एकैपटक चयन गर्ने विषय हुन् ।

नीति नै नहेरी हामीले नेतृत्व छानेका छौं । अहिले छुट्टै महाधिवेशन भनिन्छ यो विषय नै मिलेन,’ पौडेलले भने, ‘एउटा निर्वाचन सकेर सिंगो देश नै अर्को चुनावमा लागेका बेला यो बीचमा नीति महाधिवेशन गर्न त्यति सहज छैन । अब महासमिति बैठक बोलाउने र काम गर्ने हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here