कांग्रेस अधिवेशन : देउवा र पौडेलबीच कडा टक्कर

१४ मङि्सर, काठमाडौं ।  कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ। हिमाली जिल्लामा दसैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र  एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो। 

प्रदेश २ का ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ जिल्लामा भने जिल्ला अधिवेशन हुन बाँकी छ। कतै अधिवेशन स्थगन गरिएको छ भने कतै क्षेत्रीय अधिवेशन सम्पन्न भए पनि जिल्ला अधिवेशनका लागि समय अपुग हुने अवस्था छ।

frontline

प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन भइसकेपछि जिल्ला अधिवेशन नहुँदा पनि महाधिवेशनलाई असर नहुने निर्वाचन समिति सदस्य जगन्नाथ श्रेष्ठले बताए। उनले भने, ‘प्रदेश अधिवेशन हुँदासम्म जिल्ला पनि सबै ठाउँमा अधिवेशनको प्रक्रियामा जान्छ होला। यद्यपि, अब हामी प्रदेशतिर फोकस भएका छौं।’ जिल्ला निर्वाचनअन्तर्गत मोरङमा भने दोस्रोपटक मतदान भएको छ। कांग्रेसमा सभापति जित्न ५१ प्रतिशत मत नल्याए दोस्रोपटक मतदान गर्ने व्यवस्था छ।

काठमाडौंमा सबजु बानियाँले चुनाव जितेका छन्। बानिया यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिका सभापति थिए।  उनलाई नेता प्रकाशमान सिंह र गगन थापाको साथ थियो। उनका निकटतम प्रतिस्पर्धी उपेन्द्र कार्की उपविजेता बन्न पुगे कार्कीलाई पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको सहयोग थियो। सबै पदाधिकारीमा बानियाँकै प्यानल निर्वाचित भएको हो।

काभ्रेमा पनि देउवा–सिटौला पक्ष मिलेको थियो। झापामा भने प्रवक्ता विश्वप्रकाश शर्मा र सिटौला पक्षबीच चुनाव हुँदा सिटौला पक्षका नेता देउमान थेवेले सभापतिमा जितेका छन्। झापामा विश्वप्रकाश एक्लै र बाँकी समूह सबै सिटौलातिर थियो। प्रदेश १ का इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुंगामा देउवा समूह र भोजपुर, संखुवासभा, खोटाङ र तेह्रथुममा पौडेल–कोइराला समूहका नेता सभापति निर्वाचित भएका छन् ।

वरिष्ठ नेता पौडेलको क्षेत्र गण्डकी प्रदेशमा स्याङ्जा, लमजुङ, मनाङ, म्याग्दी र पर्वतमा देउवा समूहका सभापति निर्वाचित भएका छन्। गोरखा र मुस्ताङमा पौडेल समूहले जितेको छ। कास्कीमा पनि देउवा समूहले जितेको छ। तनहुँमा पौडेल समूहका वैकुण्ठ न्यौपाने र जितप्रकाश आलेबीच प्रतिस्पर्धा भएको थियो। अन्ततः देउवा पक्षका नेता आलेले जिते।

बागलुङमा प्रदेश अधिवेशनपछि मात्र जिल्ला अधिवेशन गर्ने तय भएको छ। लुम्बिनीमा भने पौडेल समूह अगाडि आएको छ। नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पामा पौडेल समूह र रूपन्देही तथा रुकुमपूर्वमा देउवा समूहबाट जिल्ला सभापति चुनिइसकेका छन्।।

५२ जिल्लाको नतिजा आउँदासम्म सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो। सिटौला पक्षबाट भने झापामा एक सभापति मात्रै जितेका छन्। देउवा र पौडेल पक्षले २६÷२५ जिल्लामा सभापति जितेका छन् भने जाजरकोट सभापति कतै पक्षतिर पनि खुल्न चाहेका छैनन्।

सर्वसम्मत भएका कतिपय जिल्लामा भने देउवा र पौडेल पक्षले आ–आफ्ना पक्षधरले जितेको दाबीसमेत गर्दै आएका छन्। १३औं महाधिवेशनमा जिल्लाको नेतृत्वमा कर्णाली प्रदेशका हुम्लाबाहेक नौवटा जिल्लामा पौडेल समूह थियो। यसपटक नतिजा उल्टिएको छ। कर्णालीका १० मध्ये ८ जिल्लामा देउवा समूहले जितेको छ भने २ जिल्लामा मात्र पौडेल समूह विजयी भएको छ।

प्रदेश अधिवेशनमा मंसिर १५ गते मनोनयन दर्ताको कार्यक्रम थियो। तर, यसलाई मंसिर १७ गते सारिएको छ। मंसिर  १६ गते प्रदेश अधिवेशन उद्घाटन हुने र त्यसको भोलिपल्ट मात्र मनोनयन दर्ताको कार्यक्रम रहेको निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठले बताए

सोमबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन कार्यतालिकाको विषयमा निर्वाचन समितिसँग छलफल गरेका थिए। छलफलमा नेताहरूले महाधिवेशन उद्घाटन हुनुअघि नै मनोनयन दर्ता गर्नु व्यवहारिक नभएको भन्दै संशोधन गर्न आग्रह गरेका थिए।

महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गरेको छ। जसअनुसार निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। शीर्ष नेताहरूसँगको परामर्शअनुसार महाधिवेशन उद्घाटन पूर्व नै उम्मेदवारी दर्ता गर्ने योजना स्थगित गरिएको छ। कांग्रेस महाधिवेशन २४ मंसिरदेखि हुनेछ।

२४ गते नै मतदाता नामावली प्रकाशित हुनेछ भने उम्मेदवारी दर्ता २५ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तोकिएको छ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २६ गते साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ। २७ गते बिहान ८ बजे मतदान हुनेछ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ।

सर्लाहीको बलरा नगरपालिकास्थित गडहियामा कांग्रेसको वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झडप भयो। घटनामा ३ सुरक्षाकर्मी, १ मतदान अधिकृत र १ कांग्रेस कार्यकर्ता घाइते भएको निर्वाचन समितिले बताएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here