कांग्रेसकै नेतृत्वमा सरकार बनाउन प्रधानमन्त्री देउवालाई नवनिर्वाचित सांसदहरूको दबाब

फाइल तस्बिर

२ पुस, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।

शनिबार बालुवाटारमा आयोजित चियापन कार्यक्रममा नवनिर्वाचित सांसदहरूले प्रधानमन्त्री देउवालाई दबाब बढाएका हुन्। 

frontline

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने बताइरहँदा कांग्रेस सांसदहरूले निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने अडानमा छन्।

‘प्रचण्डजीले प्रधानमन्त्री दाबी गर्नुभएको छ। यसलाई हामीले स्वभाविकरूपमा लिएका छौं। तर ठूलो दलको हैसियतले कांग्रेस नेतृत्व पाउनु उपयुक्त हुन्छ,’ पार्टी प्रवक्ता प्रकाशशरण मतले भने।

उनले गठबन्धनभित्र अन्य दलहरू भएकाले दाबी विरोध हुनु स्वभावित भएको बताए। ‘धेरै दल सम्बद्ध भएपछि पदका लागि दाबी पेस गर्नु स्वभाविक हुरा हो। तर जनताले कांग्रेसलाई ठूलो दल बनाएको छ। सरकारको नेतृत्व पनि पहिले कांग्रेसले पाउनुपर्छ,’ उनले भने।

कांग्रेस नेता एनपी साउदले पनि पहिले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। ‘प्रधानमन्त्री पदमा आलोपालो हुनुपर्छ। यसमा कांग्रेस लचक छ।

तर ठूलो दलको हैसियतले पहिले कांग्रेसले नेतृत्व पाउनुपर्छ,’ उनले भने। कांग्रेस नेता रामहरि खतिवडाले भने कांग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा गरे। ‘कांग्रेसको नेतृत्वमा सरकार बन्छ। यसमा दुई मत छैन,’ उनले भने।

संसदीय दलको नेता छान्न कांग्रेसले कार्यसम्पाद समितिको बैठक भोलि बोलाएको छ। बुधबार हुने संसदीय दलको निर्वाचनका लागि समिति बनाउन बैठक बोलाएको महामन्त्री गगनकुमार थापाले जानकारी दिए। 

संसदीय दलको नेता छान्ने प्रक्रिया सुरु भइरहँदा कांग्रेसभित्र को दलको नेता बन्ने विषय रोचक बन्दै गएको छ। बालुवाटारको चियापान कार्यक्रममा संसदीय दलको नेता को बन्ने विषयमा पनि टीकाटीप्पणी भएको थियो। 

सहभागी अधिकांश सांसदहरूले देउवाकै नेतृत्वमा सरकार बन्नुपर्ने बताइरहँदा महामन्त्री थापा र शेखर कोइरालासमेत संसदीय दलको नेता बन्ने दौडमा छन्। उनीहरूले सार्वजनिकरूपमै संसदीय दलको नेता बन्ने दौडमा रहेका बताइसकेका छन्।

कोइारालाले भने संसदीय दलको नेता को भन्ने कुरा नितान्त पार्टीको कुरा भएको बताएका छन्। उनले आफू त्यसको दौडमा रहेको वा नरहेकोबारे खुलाउन चाहेनन्। पार्टी प्रवक्ता महतले एकताको सन्देश दिन संसदीय दलको नेता सर्वसम्मत तरिकाले चयन हुने बताए।

‘संसदीय दलको निर्वाचन केही दिनमै हुन्छ। अरु दलको सहयोग लिएर सरकार बनाउने भएकाले एकताको सन्देश दिन पनि सर्वसम्मत नेता चयनको प्रयास हुन्छ,’ उनले भने। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here