कांग्रेसमा प्रदेश अध्यक्ष बन्न दौडधुप

६ मंसिर, काठमाडौँ । सत्तासीन कांग्रेसमा प्रदेश अध्यक्ष बन्न नेताहरूको दौडधुप सुरु भएको छ। केन्द्रमा रहेका गुट–उपगुटका आधारमा अध्यक्षका उम्मेदवारहरू दौडधुपमा लागेका हुन्। कांग्रेसले प्रदेश अधिवेशन मंसिर १६ र १७ गते सातै प्रदेशका राजधानीमा गर्दैछ। 

मुलुक संघीय संरचनामा गएपछि कांग्रेसले पहिलो पटक सातै प्रदेशमा अधिवेशन गर्न लागेको हो।  केन्द्रमा बन्ने समीकरणले तल्लो तहको नेतृत्वमा समेत प्रभाव पार्ने हुनाले पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र संस्थापनइतर पक्षबाट प्रदेश सभापतिमा प्रतिस्पर्धा हुने देखिएको छ। सभापति आकांक्षीको संख्या बढ्दै गएकाले सहमति जुट्न मुस्किल देखिएको छ। 

frontline

सभापति देउवाले प्रदेश अधिवेशन संयोजन गर्न ९ नेतालाई जिम्मेवारी दिइसकेका छन्। प्रदेश १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला,  प्रदेश २ मा रमेश रिजाल,  बागमतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दीलेन्द्रप्रसाद बडुलाई प्रदेश अधिवेशन आयोजक समितिका संयोजक तोकिएका छन्। प्रदेशको चुनावमा प्रत्येक जिल्लामा आएका क्षेत्रीय प्रतिनिधि, प्रदेशका केन्द्रीय सदस्यहरू र सांसद पनि प्रदेश अधिवेशनका मतदाता हुन्छन्।

प्रदेश १ मा अर्याल र घिमिरे आकांक्षी 
प्रदेश १ को प्रदेश अधिवेशन विराटनगरमा हुने भएको छ। सभापति पदमा देउवा पक्षबाट मोरङका अमृत अर्यालको चर्चा छ। त्यस्तै, संस्थापनइतर समूहबाट भने केन्द्रीय सदस्य गुरूराज घिमिरेको चर्चा चुलिएको छ। घिमिरे भने केन्द्रीय सदस्यका लागि अघि बढिरहेका छन्। घिमिरेसँगै अर्का नेता राजिव कोइरालाको पनि चर्चा चलेको छ। 

सहमति नजुट्ने अवस्था आएमा यिनै नेताबीच प्रतिस्पर्धा हुनेछ। नेता गुरू घिमिरे भन्छन्, ‘मैले सहमहामन्त्रीमा उठ्छु भनेको छु। हेरौं, पार्टीमा केकस्तो सहमति हुन्छ।’

प्रदेश २ 
प्रदेश २ को अधिवेशन राजधानी जनकपुरधाममा हुँदैछ। यस प्रदेशमा देउवा पक्षबाट केन्द्रीय सदस्य अजय चौरासिया र महेन्द्र राय सभापति पदको  आकांक्षी छन् । यद्यपि, विमलेन्द्र निधि धारका धनुषाका रामसरोज यादव र दिनेश यादव दुवै निधि निकट मानिन्छन्। उनीहरू पनि सभापतिका आकांक्षी छन्।

इतर पक्षबाट भने पर्सा जिल्ला सभापति अजय द्विवेधी र अर्का नेता रामकृष्ण यादव आकांक्षी छन्।  नेता दिनेश यादव निधि समूहबाट आउने देखिन्छ। 

बागमती प्रदेश
बागमती प्रदेशमा सभापतिका लागि संस्थापन पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत आकांक्षी छन्। त्यस्तै, इतर पक्षबाट भने नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य र धादिङका जिल्ला सभापति रमेश धमला र रामनाथ अधिकारी आकांक्षी छन्। 

केसी भन्छन्, ‘२०५७–२०७८ सम्म जिल्ला सभापति चलाइसकेको मान्छे हो। अब कहाँ जाने त ? अब प्रदेशमै गएर काम गर्ने हो। प्रदेश सभापतिकै लागि म अघि बढिसके।’ सिटौला पक्षबाट प्रदेश सभापतिमा भीमसेनदास प्रधान आकांक्षी छन्। अधिवेशन हेटौंडामा हुने भएको छ। 

गण्डकी प्रदेश
गण्डकीको सभापतिमा संस्थापन पक्षका नेताहरू  देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन्। इतर पक्षबाट भने नेता अर्जुन जोशी, रघुनाथ पौडेल र शुक्रराज शर्माको सम्भावना छ। नेता प्रदीप पौडेल भन्छन्, ‘हाम्रो समूहबाट उहाँहरूको नाम आएको छ। अरू आकांक्षी पनि आउन सक्नुहुन्छ।’ गण्डकी प्रदेशको अधिवेशन सदरमुकाम पोखरामा गरिने भएको छ। 

लुम्बिनी प्रदेश
यस प्रदेशमा सभापतिमा संस्थापन पक्षबाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल आकांक्षी छन्। इतर पक्षबाट भने रोल्पा सभापति अमरसिंह पुन आकांक्षी छन्। अधिवेशन बुटवलमा हुने भएको छ। 

कर्णाली प्रदेश
सभापतिमा संस्थापन पक्षबाट सभापतिमा ललितजंग शाह आकांक्षी छन्। संस्थापन इतर पक्षबाट भने सुर्खेतका केन्द्रीय सदस्य हृदयराम थानी र तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको नाम चर्चामा  छ। कर्णालीका विभिन्न जिल्लामा संगठन विस्तारमा महत्त्ववपूर्ण भूमिका निभाउँदै आएका शाही तरूण दलमा महामन्त्री, नेविसंघका उपाध्यक्ष र शाही २ पटक प्रतिनिधिसभा निर्वाचनमा कालीकोटबाट उम्मेदवार थिए। 

शाही भन्छन्, ‘सहमहामन्त्री र प्रदेश सभापतिमध्ये एकमा आकांक्षी छु। समूहभित्र जुन भूमिकाको जिम्मा दिनुहुन्छ त्यसमा काम गर्ने हो।’ अधिवेशन प्रदेश राजधानी सुर्खेतमा हुनेछ। 

सुदूरपश्चिम प्रदेश
यो नेताद्वय रमेश लेखक र एनपी साउदको प्रभाव भएको प्रदेश हो। सभापति पदका लागि दुवै नेताको निर्णायक भूमिका हुने देखिन्छ। संस्थापन पक्षमा कैलालीका सभापति नरनारायण शाह, पूर्वसञ्चार राज्यमन्त्री गोविन्द शाह, पृथ्वी सिंहलगायत नेताको नाम चर्चामा छ।

त्यस्तै, संस्थापनइतर पक्षबाट प्रदेश सांसद भरत खड्का र कर्ण मल्ल सभापतिका आकांक्षी छन्। मल्ल भने अहिले डडेल्धुरा जिल्लामा एकलौटी अधिवेशन गराएको भनेर साथीहरूसहित पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन्। कांग्रेसले केन्द्रीय महाधिवेशन भने प्रदेश अधिवेशन सकेको एक सातापछि मंसिर २४–२६ सम्म काठमाडौंमा गर्नेछ। अधिवेशन धनगढीमा हुनेछ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here