कलैयामा अत्याधुनिक ब्लड बैंक संचालनमा , उपराष्ट्रपति यादवले गरे उद्घाटन

मेवालाल यादव
बारा जिल्लाको सदरमुकाम कलैयास्थित प्रादेशिक अस्पतालमा अत्याधुनिक सुविधासम्पन्न ब्लड बैंक भवनको औपचारिक उद्घाटन सम्पन्न भएको छ। बुधबार एक भव्य समारोहका बीच सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले ब्लड बैंकको उद्घाटन गर्नुभएको हो।छाया नेपाल नामक संस्थाले १ करोड १० लाखको लागतमा निर्माण गरेको उक्त ब्लड बैंकको साँचो प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईलाई हस्तान्तरण गरिएको छ।

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अझै परिपूर्ण हुन बाँकी रहेको उल्लेख गर्नुभयो। उहाँले ब्लड बैंक स्थापनाबाट कलैया तथा आसपासका बासिन्दालाई समयमा रगत उपलब्ध भई जीवनरक्षामा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। विशेषगरी गर्भवती महिलाहरूले रगत अभावका कारण भोग्नुपर्ने समस्याबाट मुक्ति मिल्नेमा पनि उपराष्ट्रपति यादवले आशा व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन सिंहले प्रादेशिक अस्पतालहरूमा देखिएको समस्या समाधानका लागि प्रदेश सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो। उहाँले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्रादेशिक अस्पतालहरूको जिर्ण भवन निर्माण समावेश गरिने जानकारी दिनुभयो। संघीय सरकारसँग बजेटको माग गरे पनि पर्याप्त स्रोत नआएको कारण केही समस्या उत्पन्न भएको उहाँको भनाइ थियो। साथै, मापदण्ड नपुगेका अस्पतालहरूको अनुगमनलाई तीव्रता दिइएको र मापदण्ड पूरा नगरेसम्म अस्पताल सञ्चालन अनुमति नदिइने समेत उहाँले प्रष्ट पार्नुभयो।कार्यक्रममा बोल्दै संघीय सांसद किसान श्रेष्ठले कलैयामा ब्लड बैंकको स्थापना हुनु बारा जिल्लाबासीका लागि गौरवको विषय रहेको बताउनुभयो। संघ, प्रदेश र स्थानीय तह मिलेर मात्र देशको समृद्धि सम्भव हुने उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरूले जनतालाई शुलभ सेवा कसरी प्रदान गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राख्नुभयो। साथै, मानवत मटिअर्वा सडक निर्माणका लागि सबै मिलेर लड्नुपर्ने पनि सांसद श्रेष्ठले जोड दिनुभयो। त्यसैगरी, बारा क्षेत्र नं. ३ की सांसद ज्वालाकुमारी साहले कलैया प्रादेशिक अस्पतालले आफूलाई नयाँ जीवन दिएको स्मरण गर्दै अस्पताल सुधारका लागि निरन्तर खटिरहेका चिकित्सकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले राजनीतिक टीका टिप्पणीको साटो सबै मिलेर कलैयाको विकासमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।





कार्यक्रममा उपमहानगर प्रमुख विनोद साहले ब्लड बैंक स्थापनाको सपना २०५६ सालदेखि देख्दै आएका बारा जिल्लाबासीका लागि आजको दिन ऐतिहासिक बनेको बताउनुभयो। उहाँले कलैया प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि उपराष्ट्रपतिको ध्यानाकर्षण गराउँदै हालको भवनहरू जिर्ण अवस्थामा रहेको जानकारी दिनुभयो। फरक प्रसंगमा बोल्दै नगरप्रमुख साहले प्रदेश सरकारका मुख्यमन्त्रीमाथि गम्भीर आरोप लगाउँदै मुख्यमन्त्री सतिश सिंहले राणाकालिन शासन शैलीमा काम गर्न खोजेको आरोप लगाउनुभयो। महिनौँदेखि बिग्रिएको एक्सरे मेसिन नबनाइदिएको, निजी अस्पतालहरूलाई नियन्त्रित गर्न खोजिएको, र ज्यन्तीका अवसरमा निजी अस्पतालमा मात्र अनुगमन गरेर प्रचारमुखी काम गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। कार्यक्रममा छाया नेपालका कार्यक्रम निर्देशक कमल थापाले बोल्दै संस्था विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणका क्षेत्रमा ७५ वटा पालिकामा सक्रिय रूपमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार, हालसम्म छाया नेपालले १२ भन्दा बढी स्वास्थ्य संस्थाको निर्माण सम्पन्न गरिसकेको छ। ब्लड बैंक निर्माण पनि त्यही प्रतिबद्धताको निरन्तरता भएको उहाँले बताउनुभयो।कलैया प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अजय गुप्ताले पहिलेदेखि ३ सय युनिट मात्रै रक्तसङ्कलन हुँदै आएकोमा अब एक हजार युनिट रगत संकलन गर्न सकिने लक्ष्य लिएको जानकारी दिनुभयो। अस्पतालको सेवा निरन्तर सुधार भइरहेको उल्लेख गर्दै डा. गुप्ताले प्रदेश सरकारको साथले अझ प्रभावकारी सेवा दिन सकिने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्दै प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाईले आफ्नो कार्यकालमा डायलासिस सेवा, आँखाको उपचारलगायत थुप्रै नयाँ सेवाहरूको विस्तार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, हाल अस्पतालबाट दैनिक ८ सयभन्दा बढी ओपीडी सेवा दिइँदै आएको छ। ब्लड बैंक भवन निर्माण तथा अस्पताललाई हस्तान्तरण गरेकोमा छाया नेपाल संस्थाप्रति आभार व्यक्त गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा निजी संस्थाहरूको योगदानलाई सराहनीय ठहर गर्नुभयो।ब्लड बैंक उद्घाटन अवसरमा राखिएको खुल्ला रक्तदान कार्यक्रममा उपराष्ट्रपति यादवले रक्तदान समेत गर्नुभएको थियो ।

उक्त उद्घाटन समारोहमा सबिधान सभा सदस्य प्रमोद गुप्ता , महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादव, सिम्रौनगढ़ नगरपालिकाका नगरप्रमुख किशोरी प्रसाद कलवार, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी , छाया नेपालका निर्देशक कमल थापा , प्रियका ठाकुर , स्थानीय संयोजन राजेश साह , प्रहरी उपरीक्षक सन्तोष तामाङ्ग सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक अभियन्ता तथा स्थानिय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम संचालन पत्रकार लक्ष्मी खरेलले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्