कंचनपुरमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

शुक्रबार, सप्तरी । सप्तरीको कंचनपुर नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

विश्व स्तनपान सप्ताहको अवसरमा नगरपालिका बहुक्षेत्रीय पोषण इकाईद्वारा आधारभूत विद्यालय बरमझियामा आयोजित ‘सुनौलो हजार दिनको आमाहरुलाई पोषण झोला वितरण’ समारोहमा नगर प्रमुख वसन्तकुमार मिश्रले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने घोषणा गरेका हुन् ।

frontline

सप्तरी जिल्लाको पहिलो खुला दिसामुक्त र पूर्ण खोप सुनिश्चित नगर घोषित कंचनपुर नगरपालिका प्रदेश २ को पहिलो र नेपालको तेस्रो बालमैत्री नगरपालिका हो । नगर प्रमुख मिश्रले कंचनपुरलाई अब कुपोषणमुक्त नगर घोषणा गर्ने गरी काम अगाडि बढाइएको बताए ।

कार्यक्रममा स्वास्थ्य शाखा कंचनपुरले गर्भवती र सुत्केरी महिलालाई क्याल्सियम र फोलिक एसिड चक्की वितरण गरेको छ ।

गर्भावस्थामा स्वास्थ्य चेकजाँच, आइरन चक्कीदेखि क्याल्सियम र फोलिक एसिड चक्की निःशुल्क वितरण भइरहेकोमा अबदेखि गर्भवतीलाई कुनै पनि स्वास्थ्य संस्थामा जानु पर्दा एम्बुलेन्स भाडा नलाग्ने नगर प्रमुख मिश्रले घोषणा गरे ।

यसका लागि एउटा एम्बुलेन्स नियमित रुपमा बरमझियामा रहने पनि उनले बताए ।

पोषणयुक्त खानपिनको अभावले हुने कुपोषण नियन्त्रण गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत नगरपालिकाले बेलाबेलामा पोषण सामाग्री उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रमकी सहजकर्ता सुशीला चौधरीले कुपोषणमुक्त नगर घोषणा गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको बताइन् ।

सप्ताहव्यापी कार्यक्रमका अवसरमा नगरपालिकाले सबै वडामा गरेर ३६० जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण झोला वितरण गर्ने बहुक्षेत्रीय पोषण इकाईले जानकारी दिएको छ ।

झोलामा एक किलो घिउ, एक क्यारेट अण्डा, एक किलो हरियो भटमास, दुई किलो पोषिलो पिठो, नौ किसिमका गेडागुडीको प्याकेट, चार प्याकेट स्यानिटरी प्याड, ह्याण्ड सेनिटाइजर, सर्जिकल मास्क, टुथब्रस, टुथपेष्ट, साबुनको बट्टा, मग, क्याल्सियम चक्की रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here