ओमिक्रोन संक्रमणको दर बढ्दा विश्वका हजारौं उडान रद्द
१२ पुस, काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दा विश्वका हजारौं उडान रद्द भएका छन्। यसले लाखौं यात्रु प्रभावित बने।
क्रिसमसको समय भएकाले अन्य समयको तुलनामा यो यात्रुको उच्च चाप हुने समय हो। गत शुक्रबारदेखि आइतबारसम्मको क्रिसमस सप्ताहमा विश्वका कम्तीमा ७ हजार उडान रद्द भएको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले जनाएका छन्।
यसबाट सबैभन्दा बढी चिनियाँ र अमेरिकी वायुसेवा कम्पनीहरू प्रभावित भएका छन्। यी देशहरूले सोमबार पनि धेरै उडानहरू ढिलाइ र रद्द हुने घोषणा गरिसकेका छन्।
ओमिक्रोनका कारण कर्मचारी अभाव हुँदा उडानहरू रद्द भएको लाइटवेयर डाटा ट्र्याकिङ वेबसाइटलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
कतिपय एयरलाइन्सका कर्मचारीको कोभिड परीक्षण पोजेटिभ आएका कारण उडान रद्द गरिएको कम्पनीहरू बताउँछन्। सबै कर्मचारीहरूको कोभिड परीक्षण नगरे पनि संक्रमित व्यक्तिको सम्पर्कमा रहेका कर्मचारीहरूलाई सेल्फ आइसोलेसनमा बस्न भनिएकाले कर्मचारी अभाव छ। क्रिसमस सप्ताहको आइतबार १८ सयभन्दा बढी उडानहरू रद्द भएका छन्।
तीमध्ये ५ सय ६० भन्दा बढी अमेरिकी जाने र अमेरिका छोड्ने रद्द भएको बताइएको छ। अमेरिकी हवाई कम्पनीहरू डेल्टा, युनाइटेड र जेटब्लू बढी प्रभावित छन्।
अमेरिकी कम्पनी युनाइटेडले पहिले नै ओमिक्रोनको संक्रमणले उडान टोली, अन्य क्रु सदस्य र यात्रुलाई प्रभावित गर्ने चेतावनी दिएको थियो। आइतबार सबैभन्दा बढी प्रभावित एकल एयरलाइन्स चाइना इस्टर्न रहेको देखिन्छ।
आइतबार मात्रै कम्पनीले ३ सय ९० भन्दा बढी उडान रद्द गरेको जनाएको छ। उत्तरी चिनियाँ सहर सियानमा रहेको एयरपोर्टले १ सयभन्दा बढी उडान रद्द गरेको रिपोर्ट दिएको छ।
कोभिडको संक्रमण फैलन नदिन सियानका अधिकारीले आइतबार नै १ करोड ३० लाखभन्दा बढी मानिसलाई घरमा बस्न आदेश दिएको छ। लन्डनको हिथ्रो एयरपोर्टमा आइतबारसम्ममा ६० उडान रद्द भएका छन्।
अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट झन्डै ५४ लाख मानिसको मृत्यु भएको छ। यस्तै २७ करोड ९० लाखभन्दा बढीमा कोभिड पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन अन्य कोरोना भाइरसका भेरियन्टहरूभन्दा कमजोर भएको बताए पनि संक्रमणदर बढ्दो गतिमा रहेकाले वैज्ञानिकहरू चिन्तित छन्।
प्रतिक्रिया दिनुहोस्