एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलद्वारा ७ प्रदेशसभा सदस्यलाई निलम्बन
ओली पक्षका ७ जनाले विपक्षमा मत दिएपछि,स्पष्टीकरण
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ७ प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जनालाई निलम्बन गरेको हो ।
माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका ७ जनाले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।
सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।
संसदीय दलको बैठकमा ओली पक्षका प्रदेशसभा सदस्यहरु पनि सहभागी थिए । संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन नभएकाले निलम्बन गलत भएको ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्टले बताए ।
प्रतिक्रिया दिनुहोस्