एमाले मोरङ जिल्ला कमिटीमा लफडा, ओली पक्षका नेताले गरे बैठक बहिस्कार
१ पुस, काठमाडौं । नेकपा एमालेको मोरङ जिल्ला कमिटीमा लफडा भएको छ । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी बैठकलाई ओली पक्षका युवा नेताहरुले बहिस्कार गरेका छन् ।
पदाधिकारी छनोट गर्ने विषयलाई लिएर असहमति जनाउँदै युवाको समूहले बैठक बहिष्कार गरेको हो । युवाको समूहले छुटै भेलाको तयारीसमेत गरेको छ ।
विराटनगरको कञ्चनजङ्गा पार्टी प्यालेसमा बिहीबार बसेको एमाले जिल्ला कमिटीको बैठकमा पदाधिकारीको आकांक्षी रहेका रबिन थापा र सन्तोष बान्तवासहित युवाको समूहले बैठक बहिष्कार गरेको हो । उनीहरुसँगै पार्टीका प्रदेश सदस्य परामर्श बस्नेत पनि बैठकबाट बाहिरिएका थिए ।
बहिष्कार गर्ने थापा जिल्ला कमिटी सचिवको आकांक्षी हुन् भने बान्तवा उपसचिवका आकांक्षी छन् । थापाले जिल्ला कमिटीको बैठकमा आफूहरुको कुरा नसुनी जिल्ला नेतृत्वले अन्यायपूर्ण तवरले पेलेर जाने शैली अपनाएकाले आफूहरुले बैठक बहिष्कार गरेको बताए ।
हामी आगामी २३ गते जिल्ला अधिवेशनमा जाँदैछौं,’ थापाले भने, ‘यो २०÷२२ दिनका लागि बैठकबाट पदाधिकारी बनाउने तयारी जिल्ला नेतृत्वबाट भयो, यो कुरामा हाम्रो विमति छ ।’
जिल्ला नेतृत्व स्वेच्छाचारी ढंगले अगाडि बढेको विरोधमा आफूहरुले बैठक बहिष्कार गरेको थापाले बताए । थापा युवासंघका केन्द्रीय उपध्यक्ष हुन् ।
बैठक बहिस्कार गरेर हिँडेका प्रदेश कमिटी सदस्य परशुराम बस्नेतले पनि पार्टीमा व्यक्तिवादी चिन्तन हाबी हुँदै गएकाले आफूलाई त्यो स्वीकार्य नभर बैठकबाट बाहिरिएको बताए ।
उनले गोजीबाट सूची निकालेर पदाधिकारी छनोट गर्ने संस्कारले कम्युनिष्ट आन्दोलन समाप्त हुने निष्कर्षसहित बैठक बहिष्कार गरेको बताए ।
बस्नेतले आइतबार छुट्टै जिल्ला कमिटीको भेला गर्नेसमेत बताए । कुनै समय एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने बस्नेत पछिल्ला समय एमाले पार्टीभित्रै पाखामा पर्दै आएका छन् ।
यता जिल्ला कमिटी अध्यक्ष ऋषिकेश पोख्रेलले बैठक बहिस्कार गरेको बिषयमा आफूलाई जानकारी नभएको बताउँछन् । पार्टीभित्र कुनै समूह नभएको दाबी गर्दै उनले भने, ‘नेकपा एमालेप्रति बैरभाव सिर्जना गराउन कसैले प्रचार गरेको विषय होला, जिल्ला बैठक जारी छ ।’
उनले आगामी पुस २३ गते हुने एमालेको जिल्ला अधिवेशनको तयारीका लागि आवश्यक व्यवस्थापनका निम्ति १६५ सदस्यीय सम्मेलन आयोजक निर्माण कमिटी गठन गर्ने बताए ।
एमालेको जिल्ला कमिटी बैठकमा जिल्ला सदस्य, प्रदेश र केन्द्रका नेताहरुको पनि उपस्थिति छ । एमालेका केन्द्रीय नेता भानुभक्त ढकाल, विनोद ढकाल लगायत सो बैठकमा सहभागी छन् ।
यसैबीच एमाले मोरङ जिल्ला कार्यसमितिको आजको बैठकले पदाधिकारी चयन गरेको छ । अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडालाई चयन गरेको हो।
बैठकले १ सय ६५ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्