एमाले कमिटीको बैठक पछिको सामूहिक तस्बिर सार्वजनिकपछि कार्यकर्तामा खुसीयाली
काठमाडौं । एमाले स्थायी कमिटीको बैठक पछिको सामूहिक तस्बिर सार्वजनिक भएपछि कार्यकर्तामा खुसीयाली छाएको छ । मंगलवार बसेको एमाले स्थायी कमिटिको बैठकपछि नेताले सामूहिक फोटो सार्वजनिक भएको थियो। फोटो सामाजिक सञ्जालमा शेयर गर्दै नेता तथा कार्यकर्ताले खुशीयाली मनाएका हुन् । साथै बैठकले पार्टी विभाजनमा गएका माधव नेपाल लगायतका नेतालाई ‘मूलघर’मा फर्किन आह्वान गरेको छ ।
मझधारमा रहेका नेतासमेत सम्मिलित स्थायी कमिटीको बैठकले बुधवार पार्टी विभाजनका लागि औपचारिक रुपमा निर्वाचन आयोगमा सनाखत गर्नका लागि जाने तयारीमा रहेका नेतालाई बाटोबाट फर्किन भनेको हो । ‘दल दर्ताको प्रक्रियाबाट अलगत रहनुहोस् स्वागत गरिने छ,’ बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘विभाजनका सबै गतिविधि परित्याग गरेर आउनेलाई कुनै कारबाही र भेदभाव राखिने छैन ।’
माधव नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएपछि उनको साथमा रहेका दोस्रो पुस्ताका नेताहरुले साथ छोडेका हुन् । सोमबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर मंगलबारका लागि तय भएको स्थायी कमिटी बैठकमा दोस्रो पुस्ताका नेता सहभागी भएका हुन् ।
नेपाल समूहका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्तले ओलीलाई साथ दिएका हुन् । १० नेताले साथ दिएपछि ओली पार्टीभित्र शक्तिशाली बनेका छन् । एमाले २०७५ जेठ २ मा फर्किने निर्णय भएसँगै नेपाल समूहका १० नेताले ओलीलाई साथ दिएका हुन् । एमालेले जेठ २ मा फर्किने निर्णय गरे पनि माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्टसमेत बैठकमा सहभागी थिए ।
उता वरिष्ठ नेता माधवकुमार नेपालले भने बुधबार नयाँ दलको रुपमा नेकपा एकीकृत दल दर्ताका लागि सनाखत गर्दैछन् । दोस्रो पुस्ता मानिएका नेताले साथ नदिएपछि नेपाल सानो समूहका साथ नयाँ दल दर्ता गर्न लागेका हुन् । दल दर्ताको तयारीका लागि सोमबार राति नेपाल समूहका नेता चन्द्रागिरी पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्