एमालेमा अनुशासनको ‘कटअफ’ : सार्वजनिक विरोध र गुटबन्दी गरे कारबाही
काठमाडौं : एमालेले सार्वजनिक रूपमा पार्टी नीति, निर्णय र नेतृत्वको विरोध तथा गुटबन्दी गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। पार्टीभित्र बढ्दै गएको स्वेच्छाचारिता, अराजकता र अनुशासनहीनताको अन्त्यका लागि हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई ‘कटअफ बैठक’ मानिएको एमालेले जनाएको छ।
अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी अन्तरपार्टी निर्देशन (अपानि) मा पार्टीमा अनुशासन पुनस्र्थापना र संगठनलाई एकताबद्ध तथा सुदृढ बनाउने उल्लेख छ। विगतमा भएका गतिविधिलाई भने यहीँबाट टुंग्याउँदै अबदेखि हुने गतिविधिमा कडाइ गर्ने नीति लिइएको ओलीको निर्देशनमा उल्लेख छ।
‘पार्टीको नीति, निर्णय र नेतृत्वविरुद्ध सार्वजनिक रूपमा आलोचना, विरोध, निन्दा वा अपमान गर्ने, गुटबन्दी गर्ने तथा अराजक र अनुशासनहीन गतिविधि गर्ने व्यक्तिमाथि स्पष्टीकरण सोधेर कारबाही गरिनेछ,’ अपानिमा भनिएको छ। यस्ता गतिविधिमा कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले संगठन विभागलाई दिएको अपानिमा उल्लेख छ। पार्टीभित्र अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोगलाई सक्रिय बनाउने र आयोगलाई काम गर्न कुनै व्यवधान आए केन्द्रीय कमिटीले आवश्यक निर्णय गरी बाधा–अड्काउ फुकाउने पनि उल्लेख छ।






प्रतिक्रिया दिनुहोस्