एमालेको सिको गर्दै काँग्रेस, महाधिवेशनपछि नीति महाधिवेशन गर्ने
२९ कार्तिक, काठमाडौं । नेपाली काँग्रेसले एमालेको सिको गर्दै राष्ट्रिय महाधिवेशन पछि नीति महाधिवेशन गर्ने भएको छ । यसअघि महाधिवेशन कै बेलामा काँग्रेसले पार्टीको नीति तथा कार्यक्रम पेश गर्दै आएकोमा अब भने छुट्टै नीति अधिवेशन गर्न लागेको हो । यस्तै अधिवेशनको अभ्यास यसअघि नेकपा एमालेले गरिसकेको छ ।
एमालेले राष्ट्रिय महाधिवेशनअघि विधान महाधिवेशन गरेर आफ्नो नीति तथा कार्यक्रम तय गरेको थियो । यस्तै सिके गर्दै काँग्रेसले पनि पार्टीको नीति तथा कार्यक्रम तय गर्न छुट्टै अधिवेशनको नीति अख्तियार गर्न लागेको हो ।
काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा अबदेखि महाधिवेशनपछि नीति अधिवेशन गर्ने भनेर सहमति जुटेको एक नेताले बताए ।
यसअघि काँग्रेसका नीति तथा कार्यक्रमसम्बन्धी प्रस्तावका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठनको तयारी भएको थियो । तर अब त्यसो नगरी एकैचोटी पछि नीति अधिवेशन गर्ने सहमति जुटेको छ ।
पदाधिकारी बैठकमा भएको सहमतिअनुसार केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्ने बुझिएको छ । काँग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४–२६ गते हुँदैछ ।
महाधिवेशनको समयावधि थोरै रहेको र धेरै प्रक्रियाहरु पूरा गर्नुपर्ने भएकाले काँग्रेसले राष्ट्रिय महाधिवेशनपछि पार्टीको नीतिबारे वृहत छलफल गर्न यसो लागेको नेताहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्