एमसीसी टेबल नगर्न प्रधानमन्त्री देउवालाई प्रचण्डको दबाब, प्रधानमन्त्री ‘ब्याक’ नहुने

५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) टेबल नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पुनः दबाब दिएका छन्। 

बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले निर्वाचन नजिकिरहेका बेला एमसीसी अनुमोदन गर्न कठिन भएको भन्दै अहिले टेबल नगर्न दबाब दिएका हुन्।

frontline

‘प्रचण्डजी आज बिहान प्रधानमन्त्रीज्यूलाई भेट्न आउनु भएको थियो, उहाँले अहिले टेबल नगरौं भन्नुभयो तर प्रधानमन्त्री देउवाले एमसीसीबारे कांग्रेसले निर्णय गरिसकेकाले ब्याक हट्न नसक्ने जवाफ दिनुभयो’कांग्रेसका एक नेताले भने। 

एमसीसीबारे आज बस्ने गठबन्धनको बैठकमा निर्णायक छलफल हुने छ। एमसीसी अनुमोदन गर्नेबारे कांग्रेसले औपचारिक निर्णय गरिसकेकाले ब्याक हटने सम्भावना नरहेको कांग्रेसका ती नेताले भने।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपनि अन्तिम समयमा प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आग्रहमा रोकिएको थियो।

प्रचण्ड र नेपालले थप समय मागेकाले बुधबारको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुन नसकेको हो। 

पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ।

यसको पक्ष र विपक्षमा धेरैले आ-आफ्ना किसिमका तर्क गरेका छन्। प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट प्रचण्डले गराएका छन्।

बाहिर एकथरी अभिव्यक्ति दिने, तर भित्रभित्रै सत्ता गठबन्धनमा टिक्न र अमेरिकीहरुलाई नचिढ्याउने रणनीतिले प्रचण्ड अप्ठेरोमा परेका छन्।

एमसीसी मुख्यालयले गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ। 

बुधबारको घटनाक्रम हेर्दा नैतिक रूपमा माओवादी स्खलित भएको देखिएको छ। गठबन्धनमै विवाद देखिएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाएका छन्।

चार दिनअघि मात्र सैद्धान्तिक सहमति गर्ने अनि प्रक्रियामा जाने बेला द्वैध चरित्र देखाएको कांग्रेसको आरोप छ। माओवादी बैठकले सरकार छाड्ने चेतावनीसहित जस्ताको तस्तै एमसीसी सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई ‘दबाब’दिएपछि कांग्रेसका नेताहरु आन्तरिक गृहकार्यमा समेत जुटेका छन्। 

कानुनमन्त्री दिलेन्द्र बडू शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने बताए। दुई दिन दलहरूसँग सहमति खोजिने र समझदारीका आधारमा प्रस्तुत गरिने मन्त्री बडूको भनाइ छ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here