एमसिसी परियोजना मुलुक,नेपाली जनता र राष्ट्रको हितमा रहेको मन्त्री कार्कीको दाबी
१३ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना विकास परियोजना भएको बताएका छन्।
नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले कोसी गाउँपालिकामा गरेको ‘घर–घर जाऊँ, कांग्रेस जिताऊँ’ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसीबारे छरिएको भ्रममा कुनै सत्यता नभएको बताए।
सरकारका प्रवक्तासमेत रहेका उनले त्यसको पछि नलाग्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे।
उक्त परियोजना केवल विकास परियोजना भएको र यसमा आउने अनुदान रकमबाट पूर्वाधार विकास,सडक र विद्युतको ट्रान्समिसनलाइन विस्तारमा खर्च हुने भएकाले यो केवल विकास परियोजना मात्र भएको मन्त्री कार्कीले बताए।
एमसीसी परियोजनाबाट ७७ किलोमिटर अन्तर्राष्ट्रियस्तरको बाटो निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।
गरिबी निवारण गरेर देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे।
उनले एमसीसीका कारणले अमेरिकन सेना आउने भ्रममा कुनै सत्यता नभएको जनाउँदै यसले मुलुकको समृद्धिका लागि ढोका खोलेको बताए।
मन्त्री कार्कीले एमसिसी परियोजना मुलुक, नेपाली जनता र राष्ट्रको हितमा रहेको दाबीसमेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्