एन्टार्क्टिकाकाे एउटा विशाल हिमनदी पूरै पग्लिने जोखिममा
५ फागुन, एजेन्सी । एन्टार्क्टिकामा रहेको एउटा विशाल हिमनदी थ्वेइट्स अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको एउटा अध्ययनले देखाएको छ ।
बेलायतको एन्टार्क्टिक सर्भे र अमेरिकाको एन्टार्क्टिक कार्यक्रमले हिमनदीमुनि सेन्सर र पानीमुनि रोबट राखेर गरेको अध्ययनले थ्वेइट्स हिमनदी यसअघि अनुमान गरिएको भन्दा चाँडो पग्लिरहेको देखाएको बीबीसीले जनाएको छ ।
यो एन्टार्क्टिकामा गरिएकाे अहिलेसम्मकै ठूलो अध्ययन हो । थ्वेइट्स हिमनदीको आकार बेलायतको क्षेत्रफल जत्तिकै छ । यो हिमनदी पूरै पग्लियो भने त्यसले विश्वव्यापीरूपमा समुद्रको स्तरलाई आधा मिटरले बढाउने विज्ञहरूले बताएका छन् ।
सन् १९९० को दशकको अन्तिमदेखि हिमनदी आफ्नो प्रारम्भिक रेखाबाट १४ किलोमिटर खुम्चिएको देखिएको छ । कतिपय ठाउँमा त्यो रेखा अहिले वर्षमा एक किलोमिटरभन्दा बढीले खुम्चिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेचर जर्नलमा यही हप्ता प्रकाशित दुई वटा शोधपत्रमा थ्वेइट्स हिमनदी पग्लिने क्रम जलवायु परिवर्तनले गरेको असरको डरलाग्दो नमुना भनिएको बीबीसीले जनाएको छ । प्रतिवेदनमा हिमनदी पग्लिनुको मुख्य कारण समुद्रमा बढिरहेको तापक्रम भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्