उपत्यकामा गाडीको संख्या घट्यो, ४० प्रतिशत मात्रै गाडी
९ माघ, काठमाडौं । जोर बिजोर प्रणाली तथा कोरोना संक्रमण बढेका कारण काठमाण्डौ उपत्यकामा चल्ने गाडीको संख्या घटेको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी मात्रै चलेका छन् ।
जोर बिजोर प्रणाली नमान्ने दुई सय ३० वटा सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तर अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने तीन वटै जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् ।
यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपन्छी, दाना, एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ ।
यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । यसबीच कोरोना संक्रमण निकै बढेका कारण नागरिक स्वयं पनि अत्यावश्यक काम नपरी सडकमा ननिस्किएका प्रहरीले जनाएको छ ।
अरु बेला जाम हुने कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्ज, बालाजु, सोह्रखुट्टे, लैनचौर, कान्तिपथ, जमल, सिंहदरबार, थापाथली, नयाँ वानेश्वर, पुतलिसडक लगायतका ठाउँमा आज निकै कम संख्यामा गाडी चलेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सामान्य अवस्थाको तुलनामा पछिल्लो एक हप्तादेखि सडकमा ४० प्रतिशत मात्रै गाडी गुडिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरिक्षक सुनिलजंग शाहले उज्यालोलाई जानकारी दिनुभयो ।
संक्रमण उच्च हुँदा सडकमा दिनदिनै गाडीको संख्या घट्दै गएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्