उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ नरोकिने

समाचार सारांश

  • प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने जनाएको छ।
  • काठमाडौँको महाराजगञ्जबाट ४७ जना पक्राउ परेका थिए, जसमध्ये १९ जनामाथि मुद्दा दर्ता गरिएको छ।
  • प्रहरीले गुण्डाहरूको गतिविधि नियन्त्रण गर्न अपरेशन जारी राखेको छ र थप उजुरीहरूका लागि आह्वान गरेको छ।

काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान  नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए।

“गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले भने ।

frontline

उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए ।

अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए । अधिकारीले भने, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।” 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी  रहेको प्रहरीले जनाएको छ ।

#अपरेशन #अपराध #प्रहरी #काठमाडौँ

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here