उत्तर कोरियाद्वारा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार

३ भदौ, एजेन्सी । उत्तर कोरियाले सामुद्रिक क्षेत्रमा बुधबार दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार उत्तर कोरियाले गत जुलाई सुरुपछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो ।

‘उत्तर कोरियाले आज बिहानै दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ दक्षिण कोरियाली रक्षा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

frontline

गत जुलाई १० मा कैयौं क्षेप्यास्त्रहरू प्रहार गरेको ऊत्तर कोरियाले जनवरीमा त्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । ‘उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्रको क्षमतालगायत विषयमा अमेरिका र दक्षिण कोरियाली सैनिक निकायले विश्लेषण गरिरहेका छन्,’ रक्षा मन्त्रालयका ती अधिकारीले भनेका छन् ।

अमेरिका र दक्षिण कोरियाले चारदिने प्रारम्भिक संयुक्त सैन्य अभ्यास सुरु गर्नु एक दिनअघि उत्तरले क्षेप्यास्त्र प्रहार गरेको हो । यो अभ्यास अगस्ट २२ देखि सेप्टेम्बर १ सम्म हुने ‘उल्ची फ्रिडम सिल्ड’ को तयारी भएको जनाइएको छ ।

उत्तर कोरियाले आफूमाथिको अतिक्रमणको तयारीका लागि दुई देशले संयुक्त रूपमा सैन्य अभ्यास गर्दै आएको बताउने गरेको छ । दक्षिण कोरियाली राष्ट्रपति युन सुक–इओलले कार्यभार सम्हालेको बुधबार सय दिन पुगेको छ ।

युनले उत्तर कोरियाले परमाणु हतियार त्यागेको खण्डमा दक्षिण कोरियाले चरणबद्ध रूपमा आर्थिक सहयोग उपलब्ध गराउने बताउँदै आएका छन् ।

‘दक्षिण र उत्तर कोरियाबीच हुने संवाद तथा सम्झौताहरू राजनीतिक शक्तिका लागि नभई कोरियाली द्वीपमा दिगो शान्ति स्थापनाका लागि हुनुपर्छ,’ युनले पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘उत्तर कोरियाले एकै चरणमा तत्काल परमाणु हतियार त्याग्नुपर्छ भन्ने छैन ।’

कोरोना भाइरसको महामारीका कारण लामो समय शान्त रहेको उत्तर कोरियाले जनवरी महिनादेखि क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको हो ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई क्षेप्यास्त्र तथा परमाणु हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर उत्तर कोरियाले त्यसको बेवास्ता गर्दै क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको हो । त्यसैगरी, अमेरिका र युरोपेली संघले पनि उत्तर कोरियामाथि नाकाबन्दी लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here