इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै युवा संघद्वारा अख्तियारमा उजुरी
२५ जेठ, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितताको छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंमा उजुरी दिएको छ ।
उजुरीमा अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरिएको छ । युवा सङ्घमा आवद्ध नेता कार्यकर्तासहित पुगेको टोलीले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का किन दिनु परेको ? इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि किन राख्नु नपर्ने ? एक महिनाभित्रै इम्बोस्ड नम्बर प्लेट राख्नु पर्ने किन ? लगायतका प्रश्न सोधेको छ ।
युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ ।
हिजो युवा संघले यातायात विभागअगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बरमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्