इपिएलमा चितवनको जीत
काठमाडौँ, १० असोज (रासस) : चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो ।
पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले १९ तथा इसान पाण्डेले १० रन जोडे ।
त्यस्तै कप्तान सोमपाल कामी नौ, सेकुगे प्रसन्न तीन तथा कमलसिंह ऐरी र हमद शाहजाद एक रनमा पेभेलियन फर्किए । बलिङतर्फ विराटनगरका सिकन्दर राजा र करण केसीले दुई÷दुई विकेट लिए भने प्रतिश जिसी, रायन पठान र अनिल खरेलले एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५१ रनको योगफल बनाएको थियो । विराटनगरका लागि सिकन्दर राजाले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले ।
उनले ४७ बलमा सात छक्का र दुई चौका प्रहार गरे । यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए ।
विक्रम भुसालले सात, रायन पाठनले चार, चन्द्रपाउल हेमराजले दुई तथा कप्तान करण केसीले एक रन जोडे ।
सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन् । बलिङतर्फ चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले दुई÷दुई विकेट लिए । जीतसँगै चितवनले दुई अङ्क जोडेको छ ।
विराटनगरले सोमबार काठमाडौँ किंग्स इलेभेनसँग खेल्ने छ भने सोमबार नै चितवनले भैरहवा ग्ल्याडियटर्ससँग खेल्नेछ । –––
प्रतिक्रिया दिनुहोस्