इन्साइडर ट्रेडिङविरुद्ध बोर्डको ‘एक्सन’पछि सकारात्मक छैन सेयर बजार

 नेपाल धितोपत्र बोर्डले इन्साइडर कारोबारमा कडाइ गर्ने सङ्केतसँगै शेयर बजार परिसूचक नकारात्मक बन्न थालेको छ । पछिल्लो तीन सातादेखि सेयर बजार परिसूचक (नेप्से) घट्दै गएको हो । 

गत मङ्सिर ११ गते नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका थिए । उनको नियुक्ति भएको समयमा धितोपत्र बजार बढे पनि त्यसको केही दिनपछि बजार लगातार घट्दै आएको छ । 

frontline

पछिल्लो पटक ११ कारोबार दिनमा मात्रै बजार परिसूचक १८० अंकले घटेको देखिन्छ । मङ्सिर १८ गते २७७५ अंकमा रहेको बजार परिसूचक यो साताको अन्तिमसम्म आइपुग्दा २५९६ अंकमा झरेको हो ।

नियुक्तिको केही दिनपछि बोर्डका अध्यक्ष एउटा सार्वजनिक कार्यक्रममा बजारमा इन्साइडर कारोबार गर्नेमाथि कारबाही गर्ने बताएका थिए । त्यसलगत्तै बोर्डले विशाल बजार कम्पनी लगायत केही कम्पनीको कारोबार विवरण पठाउन भन्दै ब्रोकर कम्पनीलाई निर्देशन दिइएको भन्ने हल्ला आएको थियो, यद्यपि यसबारे आधिकारिक रूपमा बोर्ड र ब्रोकर कसैले बोलेका छैनन् । अध्यक्ष श्रेष्ठले भने इन्साइडर ट्रेडिङ गर्नेमाथि कारबाही गर्ने पटक पटक दोहोर्‍याउँदै आएका छन् । 

बजारका लगानीकर्ताहरु बजारमा यही हल्लाको कारणले धेरै उतारचढाव भएका कम्पनीहरूको मूल्य घटिरहेको बताउँछन् । लगानीकर्ता उत्तम खड्का पछिल्लो समय धेरै उतारचढाव हुने कम्पनीको मूल्य बढी घटेको पाइएको बताउँछन् । ठुला कम्पनीको शेयरमा भने धेरै गिरावट नआएको उनको अनुभव छ । 

खड्काले भनेजस्तै बिहीबारको बजारमा वाणिज्य बैंकहरु रहेको बैंकिङ परिसूचक ०.८२ प्रतिशतले घट्दा फाइनान्स २.३१ प्रतिशत र ट्रेडिङ २.७३ प्रतिशतले घटेको देखिन्छ । आइतबार समेत यी उपसूचकमा ठुलो गिरावट देखिएको थियो । उत्पादनमूलक क्षेत्रका कम्पनीको मूल्य समेत योबिचमा घटेको देखिन्छ । 

मङ्सिर १८ गतेसँग बिहीबारको परिसूचकलाई तुलना गर्दा यो अवधिमा समग्र परिसूचक ६.४४ प्रतिशतले घटेको छ । त्यसमध्ये फाइनान्स, डेभलपमेन्ट बैंक, होटल, जीबन बीमा र इन्भेष्टमेन्ट समूह औसतभन्दा धेरैले घटेको छ भने बैंकिङ, म्युचुअल फण्ड, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ लगायत क्षेत्रहरु औसतभन्दा कमले मात्रै घटेको देखिन्छ ।

chart

सेयर विश्लेषक देव गुरागाईँ बजारको अहिलेको गिरावटलाई ‘साइडवेज इफेक्ट’ मान्छन् । बजार यसअघि पनि २२–२४ सयदेखि २७–२८ सयको हाराहारीमा घुमिरहेको भन्दै अहिलेको गिरावट त्यसैको निरन्तरता भएको उनको भनाइ छ । यद्यपि धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङका रोक्न गरेको पहलका कारण बजार घटेको विषयलाई पनि नकार्न भने नसकिने उनको भनाइ छ । यो कारणले पछिल्लो गिरावट भएको भए पुँजी बजारको दीर्घकालीन भविष्यको लागि यो सकारात्मक रहको गुरागाईँ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here