इन्धनको बढ्दो मूल्यका कारण पाक्षिक घाटा साढे ५ अर्ब पुग्नेे दावी,भारतबाट थप महँगिएर आयो पेट्रोल र ग्याँस
२ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको बढ्दो मूल्यका कारण पाक्षिक घाटा साढे ५ अर्ब नजिक पुग्नेे दावी गरेको छ ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य महँगिएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।
आईओसीबाट प्राप्त नयाँ मूल्यअनुसार अहिलेकै बिक्री मूल्यमा १५ दिनमा निगमलाई ५ अर्ब ५१ करोड रुपैयाँ नोक्सानी हुने देखिएको प्रवक्ता उपाध्ययले बताए ।
१९ फागुनमा तोकिएको मूल्यको आधारमा पेट्रोलबाट निगमलाई लिटरमा ३२ रुपैयाँ ८१ पैसा, डिजेलमा ३६ रुपैयाँ ४४ पैसा र खाना पकाउने ग्याँसमा ६६५ रुपैयाँ ३४ पैसा घाटा छ,’ उपाध्ययले भने, ‘जसअनुसार १५ दिनमा पेट्रोलमा एक अर्ब ७ करोड, डिजेलमा ३ अर्ब १६ करोड र खाना पकाउने ग्याँसमा एक अर्ब २६ करोड रुपैयाँ नोक्सानी छ ।’
यसमा हवाइ इन्धनमा हुने नाफा घटाउँदा र मूल्य समायोजन नगर्दा कुल नोक्सानी १५ दिनमा ५ अर्ब ३० करोड पुग्ने देखिएको हो ।
रुस र युके्नको युद्धका कारण गत साता कच्चा तेलको मूल्य प्रति ब्यारेल १३१ डलरसम्म पुगेको थियो । त्यसैको असर अहिलेको नयाँ मूल्यमा देखिएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्