आलमलाई सफाइ दिने उच्चको फैसलाविरूद्ध सर्वोच्च जाँदै महान्यायाधिवक्ता कार्यालय

 समाचार सारांश

  • नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसला विरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने भएको छ।
  • सर्वोच्च अदालतमा पुनरावेदन दिने तयारी भइरहेको छ, र उच्च अदालतले अभियोग तयार गरिरहेको छ।
  • २०६४ सालको घटनामा आलमसहित चार जनालाई जन्मकैदको फैसलालाई उच्च अदालतले उल्टाउँदै सफाइ दिएको थियो।

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जको फैसलाविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ । यसका लागि महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिने निर्णय गरिसकेको छ ।

frontline

त्यसैअनुसार उच्च सरकारी कार्यालय वीरगञ्जलाई निर्देशन दिइएकोमा अबको एक साताभित्र पुनरावेदन निवेदन दर्ता गरिसक्ने तयारी रहेको  सहन्यायाधिवक्ता एवं प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।

उनका अनुसार उच्चबाट केही दिनमै अभियोग तयार भएर पठाइने जानकारी आएको छ । अभियोग तयारी लगभग अन्तिम अवस्थामा रहेकाले उच्चबाट आए लगत्तै त्यसमा थप अध्ययनसहित अभियोगपत्र तयार गरेर पुनरावेदन दिने उनले बताए ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनले गत जेठ १४ गते आलमलाई सफाइ दिएका थिए ।

२०६४ चैत २७ गते संविधान सभा निर्वाचनको अघिल्लो दिन पूर्व सांसद आलमका काका शेख इद्रिसको गोठमा विस्फोट भएको र उक्त घटनाका घाइतेलाई ईंटाभट्टामा जिउँदै पोलेर हत्या गरेको अभियोग आलमसहितका प्रतिवादीमाथि थियो । 

घाइतेहरूको उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न ट्याक्टरमा लोड गरी नजिकै रहेको राजा ईंटाभट्टामा बलिरहेको चिम्नीमा जिउँदै हालेर जलाइएको अभियोगमा २०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटले आलमसहित चार जनालाई जन्मकैदको फैसला गरेको थियो । उच्चले उक्त फैसला उल्टाउँदै आरोपी सबैलाई सफाइ दिएको हो ।

आलमलाई सफाइ दिएपछि न्यायाधीशद्वय थारु र महर्जनविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ । घटना नै नभएको भन्दै अन्यायपूर्ण फैसला गर्ने न्यायाधीशमाथि कारबाही गर्न मागसहित उक्त घटनामा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुवा श्रीनारायण सिंहले उजुरी दिएका हुन् । 

सर्वोच्चका न्यायाधीश विनोद शर्माको अध्यक्षतामा एक सदस्यीय छानबिन समिति बनाएर थारु र महर्जनमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई परिषद्ले कारबाही गर्दै काजमा सर्वोच्च ल्याइसकिएको छ । 

#आलम #अफताब #आलमसर्वोच्च #अदालत #सफाइ

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here