आमाको कुटपिटले घाइते छोराको उपचारका क्रममा मृत्यु
१३ मंसिर, विराटनगर । मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ ।
गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पुगेका राजेन्द्रले पारिवारिक विवाद निकालेर शनिबार राति घरमा झगडा गरेका थिए ।
झगडा गर्न थालेपछि आमा बातियोले लट्ठीले कुटपिट गर्दा राजेन्द्र घाइते भएको उनको भनाइ छ । घटनालगत्तै राजेन्द्रलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा भर्ना गरिएको थियो ।
सामान्य उपचारपछि घर फर्काइएका उनको स्वास्थ्यमा थप समस्या आएपछि आइतबार राति नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
घटनाका बारेमा ढिलो गरी जानकारी पाएको प्रहरीले घटनास्थलमा पुगेर राजेन्द्रलाई थप उपचारका लागि नोबेल लगेको हो । उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी डीएसपी श्रेष्ठले दिए ।
प्रतिक्रिया दिनुहोस्