आज देशभर वर्षा
१८ असोज, काठमाडौं । दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ । आज प्रदेश नम्बर–१, मधेस प्रदेश तथा वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाइएको छ ।
अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ ।
यस्तै, विजयादशमीको दिन भोलि देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अरू स्थानमा हल्का वर्षा हुनेछ ।
महाशाखाका अनुसार आज राति पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश–१, मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
विजयादशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्