असहाय, गरिब, आर्थिक अभावमा परेकालाई निःशुल्क उपचार गर्न मेयर शाहको निर्देशन

२८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले स्वास्थ्य र शिक्षा व्यापारको रुपमा नभई सेवाको रुपमा जनताको घरदैलोमा पुग्नुपर्ने बताएका छन्।

क्षेत्रपाटी निःशुल्क चिकित्सालयको शनिबार विहान निरीक्षण गर्दै सेवामा ध्यान दिन जोड दिए। २०१३ सालमा स्थापना भएको चिकित्सालयको नवनिर्मित भवन निर्माणको अवलोकन तथा अस्पतालबाट प्रवाह भइरहेको सेवा सम्बन्धमा पनि उनले अनुगमन गरे।

frontline

त्यसक्रममा मेयर शाहले अस्पतालमा उपचार गराइरहेका विरामीसँग अन्तरक्रियासमेत गरेका थिए। अस्पतालबाट प्रवाह भइरहेको सेवा तथा विरामीसँग अन्तरक्रियापश्चात उनले अस्पतालले आफूले सोचेभन्दा राम्रो सेवा प्रवाह गरिरहेकोमा खुसी व्यक्त गरे।

अवलोकनका क्रममा उनले चिकित्सालयबाट असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रुपमा उपचार हुने कुराको ग्यारेन्टी गर्न निर्देशन दिए।

अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अस्पताल प्रवेश गर्ने जोसुकै उपचारविहीन अवस्थामा फर्कनु नपरेको बताउँदै हुनेसँग न्यूनतम शुल्क लिएर र नहुनेलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले भने, ‘यहाँ देशैभरिका जोसुकै नेपाली नागरिकले मसँग पैसा छैन भनेर आउँछन् भने निःशुल्क उपचार सेवा पाउँछन्।’

मेयर शाहले समुदायबाट चलेको अस्पताललाई महानगरले के गर्न सक्छ? सहकार्य कसरी हुनसक्छ? बार्षिक रुपमा सहयोग गर्ने वा के भन्ने विषयमा छलफल भइरहेको बताए।

शिक्षा र स्वास्थ्य भनेको प्राथमिक एजेण्डा भएकोले सेवा नै हुनुपर्छ र व्यापार हुनु हुँदैन भन्ने सोचले अघि बढाउने प्रतिबद्धता जनाए।

स्वास्थ्य र सरसफाइमा महानगरले उच्च चासो दिएको बताउँदै यसको लागि नयाँ नयाँ योजना तथा सल्लाह सुझावहरु लिएर आउनेसँग सहकार्य गरिने मेयर शाहले बताए। सो क्रममा कामपा १७ नं वडाका अध्यक्ष नवीन मानन्धरसमेत सहभागी थिए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here