अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता श्रममन्त्री श्रेष्ठ युएई जाने
२४ माघ, काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नागरिकको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफलका लागि मन्त्री श्रेष्ठ युएई जान लाग्नुभएको हो ।
नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (युएई) का राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफल समेत गर्नुभयो ।
श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गर्नुभयो ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल-युएई संयुक्त समितिको वैठक पनि आयोजना हुनेछ ।
प्रतिक्रिया दिनुहोस्