अमेरिकी ट्यारिफले विश्व बजार प्रभावित, तर ट्रम्प भन्दैछन्– सुन्दर कुरा हो

२५ चैत, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशहरूमा हालै लागु गरिएको ‘रेसिप्रोकल ट्यारिफ’को घोषणा छिट्टै कार्यान्वयनमा आउने बताएका छन् । उनले यसलाई ‘अमेरिकाका लागि सुन्दर’ कुरा समेत भनेका छन् ।
ट्रम्प दोस्रोपटक अमेरिकी सरकारको नेतृत्वमा आएपछि अप्रिल २ मा भारतसहित संसारका धेरै देशहरूबाट अमेरिका भित्रिने सामानमा अतिरिक्त आयात शुल्क घोषणा गरिएको थियो ।




अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै देशहरुसँगको वित्तीय घाटा पूर्तिका लागि शुल्क अपरिहार्य भएको तर्क गरेका छन् ।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘चीन, युरोपेली संघ र धेरै अन्य देशहरूसँग हाम्रो विशाल वित्तीय घाटा छ । यस समस्याको समाधान केवल ट्यारिफबाट नै सम्भव छ । यसबाट अमेरिकामा अर्बौं डलर आइरहेको छ ।’
उनी अगाडि लेख्छन्, ‘एक दिन मानिसहरूले बुझ्नेछन् कि अमेरिकाका लागि ट्यारिफ एकदमै सुन्दर कुरा हो ।’
ट्रम्पले धेरै युरोपेली र एसियाली देशहरूसँग आफूले कुरा गरेको दाबी समेत गरेका छन् र उनका अनुसार अब सबै देशहरू अमेरिकासँग ‘डिल’ गर्न इच्छुक छन् ।
ट्रम्पले ट्यारिफमा जोड दिइरहेका बेला जानकारहरु भने अमेरिकाको यो निर्णयले संसारमा ट्रेड वार अर्थात् व्यापारिक युद्धको खतरा बढाएको टिप्पणी गर्दै आएका छन् । अमेरिकाको बदलास्वरुप चीनले पनि अमेरिकी सामान आयातमा ३४ प्रतिशतसम्म ट्यारिफ लगाउने घोषणा गरिसकेको छ ।
अमेरिकी ट्यारिफको असरले युरोप, एसिया र स्वयं अमेरिकाको शेयर बजार समेत नराम्रोसँग प्रभावित भएको छ ।
यसबीचमा विश्वका सबैभन्दा धनाड्य व्यक्तिहरुको सम्पत्ति पनि घटेको छ । ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार एलन मस्कसहित विश्वका अर्बपतिहरुको सम्पत्तिमा गिरावट आएको छ । एक्सका मालिक एलन मस्कको सम्पत्ति १९.९ बिलियन डलर घटेको छ । मार्क जुकरबर्गको सम्पत्तिमा ९.४४, जेफ बेजोसको ७.५९ र बिल गेट्सको ६.४५ बिलियन डलर नोक्सान भएको छ ।
प्रतिक्रिया दिनुहोस्