अमेरिकामा स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा गोली चल्दा ६ को मृत्यु, २४ जना घाइते
२१ असार, सिकागो । अमेरिकाको सिकागो नजिकैको हाइल्याण्ड पार्कमा सोमबार अमेरिकी स्वतन्त्रता दिवसको अवसरमा निकालिएको परेडमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ। सो आक्रमणमा २४ जना घाइते भएका छन्।
हाईल्याण्ड पार्क प्रहरी प्रमुखले आक्रमणमा संलग्न २२ वर्षीय संदिग्धलाई पक्राउ गरिएको बताएका छन्। प्रहरीले एक राइफल समेत बरामद गरेको छ।
राष्ट्रपति जो बाइडेनले विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन्। उनले आक्रमणपछि हाइल्याण्ड पार्कका जनतालाई सहयोग गर्न स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न आफू तयार रहेको बताएका छन्।
राष्ट्रपति बाइडेनले परेड शुटिङको घटनाबारे थाहा पाएर आफू स्तब्ध भएको बताए। उनले अमेरिकामा बन्दुक हिंसा विरुद्धको लडाई जारी राख्ने बताए।
हाइल्यान्ड पार्कका प्रहरी प्रमुख लु जोगम्यानले पक्राउ परेका २२ वर्षीय रोबर्ट इक्रिमोको भएको बताए। प्रहरीले आक्रमणकारीको पहिचान कसरी भयो भन्ने कुरा बताउन अस्वीकार गरेको छ।
परेड सुरु भएको १० मिनेटमै फायरिङ सुरु भएको थियो। अमेरिकामा गत महिना पनि टेक्सास, बफेलो सुपरमार्केटलगायत धेरै ठाउँमा गोली चलेको थियो। बीबीसी
प्रतिक्रिया दिनुहोस्