अमेरिकामा फाइजरको कोभिड पिलले पायो अनुमति
९ पुस, काठमाडौं । अमेरिकामा फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएको छ । बुधबार अमेरिकाको स्वास्थ्य नियामकले फाइजरको कोभिड पिललाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड संक्रमित भएका वयस्क र १२ वर्षमाथिका बालबालिकाको हकमा फाइजरको पिल प्रयोग गर्न अनुमति दिएको हो ।
त्यस्तै, सुरुमै अस्पताल जानु पर्ने लक्षण देखिने कोभिड संक्रमितले समेत घरमै पिल प्रयोग गर्न सक्ने छन् ।
मोटोपना र मुटुसम्बन्धी समस्या भएका वयस्कले पनि फाइजरको कोभिड पिल प्रयोग गर्न सक्नेछन् । तर मिर्गौला वा कलेजोको गम्भीर समस्या भएका मानिसले भने पिल प्रयोग गर्न पाउने छैनन् ।
साथै, पिल प्रयोगका लागि १२ वर्षमाथिका बालबालिकाको तौल कम्तिमा ४० किलो हुनु पर्नेछ ।
फाइजरको कोभिड पिलले प्रयोगको अनुमति पाएसँगै मानिसले घरमै पिल सेवन गरेर कोरोना भाइरसको अति खराब असर रोक्न सक्ने समाचारमा उल्लेख छ ।
‘प्याक्सलोभिड’ नामक फाइजरको पिल कोभिड-१९ को प्रारम्भिक संक्रमण चाँडो उपचार गर्ने औषधि हो । तर सुरुमा सीमित मात्रामा मात्रै वितरण गरिने छ ।
औषधि निर्माता कम्पनी मर्कले उत्पादन गरेको एन्टिभाइरल कोभिड पिलले समेत चाँडै नै प्रयोगको अनुमति पाउने अपेक्षा गरिएको छ ।
तर सेवनपछि सामान्य साइड इफेक्ट देखिने र उच्च प्रभावकारिताका कारण फाइजरको पिल नै मानिसको रोजाइमा पर्ने लगभग निश्चित छ ।
गम्भीर अवस्थामा पुग्न सक्ने कोभिड संक्रमितले प्याक्सलोभिड पिल खाएपछि अस्पताल भर्ना र मृत्यु हुने संभावना ९० प्रतिशतले घट्ने परीक्षणबाट पुष्टि भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्