अब निर्वाचनमा जानुको विकल्प छैन : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले अब देश निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन् । नेकपाको अस्तित्व सकिएसँगै निर्वाचनबाट नयाँ जनमतसहित देशलाई अघि बढाउनुपर्ने आजको आवश्यकता भएको बताए ।

नेपाल राष्ट्रिय मगर संघले आयोजना गरेको प्रथम कर्णाली प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर आएका थापाले अब कांग्रेस सरकारमा गएर देशलाई निष्पक्ष चुनावमा लिएर जाने बताए । 

frontline

‘आजसम्म हामीले (कांग्रेसले) कहिल्यै सरकारमा जाने कुरा गरेन,’ थापाले भने, ‘तर अब अदालतले नेकपा दललाई नै मृत घोषणा गरिसकेपछि उत्पन्न परिस्थितिलाई सही तरिकाले अघि बढाउन कांग्रेस सरकारमा जान्छ । एक वर्षमा निर्वाचन गराएर नयाँ म्यान्डेट ल्याउने पार्टीले देशलाई अघि बढाउँछ ।’ कांग्रेसको १४ औँ महाधिवेशन पनि समयमा हुने भन्दै थापाले अब महाधिवेशन र चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह समेत गरे ।

‘आजसम्म कम्युनिस्टहरूले कांग्रेसलाई गाली मात्र गरे’, उनले थपे, ‘जनताको मुद्दामा कहिल्यै लडेनन् । बरु आफै भित्र सत्ताका लागि लडे । जोश जाँगर भएका युवालाई विदेश पठाएर तिनैको रेमिट्यान्सबाट वृद्ध बा–आमालाई भत्ताको आश देखाइरहेका छन् । कोरोना भाइरसका कारण देश अस्तव्यस्त बनेको अवस्थामा लोकतन्त्र नै धरापमा पारिरहेको छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो घर जलाए जस्तै सिंहदरबारको सम्पत्ति जलाएर विकासको नाममा ३ वर्ष पहिल्यै शिलान्यास भएका आयोजना पुनः शिलान्यास गरेर नाटक मञ्चन गरिरहेको बताए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएको अवस्थामा नैतिकताका आधारमा राजीनामा दिनुको साटो संसद्लाई नै पङ्गु बनाउने खेलमा प्रधानमन्त्री लागेको, अदालत, अख्तियार लगायतका सबै सरकारी क्षेत्रलाई आफ्नो प्रभावमा राखेर नाम मात्रको चुनाव गर्ने खेलमा प्रधानमन्त्री ओली लागेको बताए । ओलीको अहंकार र अयोग्यताका कारण देश अहिलेको अवस्थामा पुगेको भन्दै थापाले अब नेपाली कांग्रेसले मात्रै सबैलाई मिलाएर अघि बढ्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here