अन्तिम ओभरमा चुक्दा नेपालको हार
त्रिकोणात्मक टी ट्वान्टी सिरिजमा नेपालले नेदल्याण्ड्ससँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्ड्ससँग २ रनको हार ब्यहोरेको हो ।
अन्तिम ओभरमा चुक्दा जितको नजिक पुगेको नेपालले नेदरल्याण्ड्सलाई नतिजा सुम्पिएको छ ।
नेदरल्याण्ड्सका वेन डेर मेर्वेले अन्तिम ओभरमा दुई विकेट लिएपछि नेपालले नमिठो हार ब्यहोरेको हो ।
अन्तिम ओभरमा नेपालका करन केसी रन आउट भएका थिए भने दीपेन्द्र सिंह ऐरी बोल्ड हुन पुगेका थिए ।
दीपेन्द्रले ६३ रनको शानदार इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । कप्तान रोहित पौडेलले ५० रनको योगदान गरे ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले कुशल भर्तेललाई शुन्य रनमा गुमाएको थियो । आरिफ शेख र कप्तान रोहितल दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
कुशल मल्लले ११ र सन्दीप जोराले ८ रन बनाए । सोमपाल कामी शुन्य रनमा आउट हुदाँ करन केसीले ११ रन बनाए । गुलसन झा र प्रतिश जिसी शुन्य रनमा अविजित रहे ।
अन्तिम ओभरमा दीपेन्द्रलाई गुमाउनुनै नेपालका लागि हारको टर्निङ पोइन्ट बन्न पुग्यो ।
डच टिमका रुलोफ वान डेर मेरवे र साइब्रान्ड एनगेलब्रेक्टले समान दुई तथा आर्यन दत्त, विलियन किंग्मा र टिम वान डेरले समान एक एक विकेट झारेका थिए ।
कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
नेदरल्याण्ड्सका माइकल लेविटले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दै नेदरल्याण्ड्सलाई शानदार सुरुवात दिलाएका थिए । उनी कुशल मल्लको बलमा आसिफ शेखको हातबाट क्याच आउट भएका थिए ।
अर्का ओपनर मेक्स ओडाड ४ रनमा आउट भए । उनी करन केसीको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट आउट भएका थिए ।
साइब्रान्ड एनगेलब्रेक्टले अविजित ४९ रनको योगदान दिए । कप्तान स्कट एडवर्डस ३३ रनमा आउट भए । तेजा निदामानुरुले ३१ रन बनाए ।
स्कट र तेजा दुवै रन आउट भए । उनी दुवैलाई आसिफ शेखले आउट गरे ।
नेपालका करन केसी र कुशल मल्लले समान एक एक विकेट लिए ।
सिरिज अन्तर्गत नेपालले आगामी शुक्रबार नामिबियासँग तेस्रो म्याच खेल्नेछ । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
आईसीसी विश्वकप लिग टू खेल्न नेपाल आएका नामिबिया र नेदरल्याण्ड्सलाई समावेश गर्दै नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी ट्वान्टी सिरिज आयोजना गरेको हो ।
प्रतिक्रिया दिनुहोस्