अदालतलाई प्रभाव र दबाबमा राख्न एकलौटी महाधिवेशनको प्रक्रिया अगाडि बढाएको आरोप
नेपाली कांग्रेसको इतर समूहले विशेष महाधिवेशन पक्षधरले एकलौटी महाधिवेशनको प्रक्रिया थालेर अदालती प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ । विशेष महाधिवेशन पक्षधरले अदालतलाई प्रभाव र दबाबमा राख्न एकलौटी महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
कांग्रेसको आधिकारिकता र नेतृत्व अद्यावधिकको विवादमा सर्वोच्च अदालतले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि त्यसविरुद्ध विशेष महाधिवेशन पक्षधर नेताहरूले त्यसविरुद्ध चलखेल गरिरहेको आरोप इतर समूहले लगाएको हो ।
सर्वोच्चले सुरुबाटै सुनुवाइ गर्ने अनुमति दिएपछि पनि एकलौटी महाधिवेशनको प्रक्रिया सुरु गरेको भन्दै इतर समूहले त्यो प्रक्रिया रोक्न सर्वोच्चमा सोमबार रिट दायर गरेको छ । १४ औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले वारेस मार्फत सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
देउवाको वारेस भएर कांग्रेस नेता दीपक खड्काले रिट दायर गरेका हुन् ।
महाधिवेशनको प्रक्रिया रोक्न रिट दायर गरेपछि विशेष महाधिवेशन पक्षधरहरू भ्रम फैलाउन लागेको खड्काले बताए । खड्काले गगन थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरूले अदालतलाई दबाबमा पार्ने गरी भ्रामक विचार सम्प्रेषण गरेको र शीर्ष नेताहरूविरुद्ध गालीबेइज्जतीमा उत्रिएको आरोप लगाए ।
‘आफैँ कानुन र अदालतलाई प्रभाव र दबाबमा राख्न अनेकन् फन्दा गर्ने अनि अरूलाई चाहिँ अनेक आरोप लगाएर बदनामी गर्ने कार्य भइरहेको छ,’ खड्काले भने ।
देउवाको रिटमा विशेष महाधिवेशनबाट आएको भनिएको नेतृत्वले एकलौटी रूपमा महाधिवेशनको प्रक्रिया थालेर अदालती प्रक्रियालाई प्रभावित पार्न खोजेको विषय उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्