अदालतमा बयान सकेर बैठक बोलाउने माधवको मत
समाचार सारांश
- अख्तियारले मुद्दा दायर गरेपछि माधवकुमार नेपाल कानुनी परामर्शमा छन्।
- पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर भएको थियो, जसमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवानाको माग गरिएको छ।
- नेपालले अदालतमा बयान दिने तयारी गरिरहेका छन् र शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ।
काठमाडौँ । पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले अदालतमा मुद्दा दायर गरेपछि करिब दुई सातादेखि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कानुनी परामर्शमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएलगत्तै नेपालले नेपालका शीर्ष कानुन व्यवसायीहरूसँग परामर्श गरेका हुन् । आफूविरुद्ध मुद्दा दायर भएपछि उनले राजनीतिक र कानुनी लडाई लड्ने बताएका थिए । त्यसक्रममा उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग राजनीतिक परामर्श पनि गरेका छन् । कानुनका जानकार र पूर्व प्रधानमन्त्रीसँगको परामर्शपछि गत आइतबार नै नेता नेपाल अदालतमा बयान दिन जाने तयारीमा थिए । तर केही कागजपत्र र तयार भई नसकेकोले रोकिएका थिए ।
‘आइतबार नै अदालत जाने तयारी थियो तर केही प्राविधिक विषयले जानु भएन’, पार्टीका एक पदाधिकारी भन्छन्, ‘सम्भवतः आज बुधबार वा भोलि बिहीबार उहाँ बयानका लागि जानुहुन्छ ।’
बिहीबारभित्र बयान दिएर शुक्रबार सचिवालय बैठक बोलाउने तयारी नेपालले गरेका छन् । ‘असार १३ गते शुक्रबार सचिवालय बैठक बोलाउने तयारी छ । त्यसअघि उहाँ अदालतमा बयान दिन जाने सोच बनाएको बुझिएको छ ’, ती नेताको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्