अज्ञात रोगले मरे पशुचौपाया
१ पौष, राजविराज । सप्तरीको दक्षिणी सीमावर्ती छिन्नमस्ता गाउँपालिकाको लालापट्टीमा दुई सातायता पशुचौपाया धमाधम मर्न थालेका छन् । करिब एक सयभन्दा बढी गाई, गोरु, भैंसीलगायतका चौपाया मरेका हुन् ।
अहिले पनि गाउँमा चार सयभन्दा बढी चौपाया बिरामी छन् । सुरुमा पशुहरूलाई ज्वरो आउने, खुट्टा तथा मुखमा घाउ हुने, आँखा पाक्ने, घाँटी बांगिनेजस्ता लक्षण देखिने र केही घण्टाभित्रै मर्ने गरेको स्थानीय रविन्द्रनाथ यादवले बताए । तर, कुन रोग देखिएको भन्ने पुष्टि भएको छैन ।
छिन्नमस्ता–४ अन्तर्गतको लालापट्टी कृषि र पशुपालनमा जिल्लाकै अग्रणी हो । यहाका प्रायः परिवारले पशुपालन गर्छन् । चौपायामा देखिएको अज्ञात रोगले किसानहरू चिन्तित बनेका छन् ।
धान भित्र्याउने बेला बेमौसमी वर्षाले थलिएका किसानले पालेका चौपायासमेत मर्न थालेपछि चिन्तित भएको स्थानीय अगुवा विनोद यादवले बताए ।
ठूलो संख्यामा चौपाया संक्रमित हुनुका साथै धमाधम मरिरहे पनि गाउपालिकालगायत अन्य सरोकारवाला सोधखोज समेत गर्न नआएको किसानहरूको गुनासो छ । विपन्न परिवारलाई चिकित्सक र औषधि खोज्नसमेत हम्मे परेको पीडित किसान जितेन्द्र यादवले बताए ।
छिन्नमस्ता गाउपालिकाका पशु विकास शाखा प्रमुख चन्द्रनारायण पण्डितले आफूसँग उपलब्ध थोरै औषधिलगायत स्वास्थ्य सामग्रीले केही चौपायाको उपचार गरे पनि औषधिको अभावका कारण चाहेर पनि केही गर्नसक्ने अवस्था नरहेको बताए ।
पालिकाका जनप्रतिनिधि र जिम्मेवार कर्मचारीलाई यसबारे पटकपटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ ।
वडाध्यक्ष रामानन्द पण्डित भने गाउँसभा समयमा हुन नसक्दा आफूहरूसँग बजेट, कार्यक्रम तथा औषधिको अभाव रहे पनि चौपायामा देखिएको समस्या समाधानतर्फ आफूले पहल थालेको बताए ।
लालापट्टीवाट सुरु भएको यो रोगजस्तै लक्षण २/३ दिनयता छिन्नमस्ता–२ मोहनपुरका केही चौपायामा समेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्