अख्तियारको टोली धरान जाने भएपछि हर्क साम्पाङ आक्रोशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङमाथि अनुसन्धान अघि बढाउने भएको छ । खानेपानीको नाममा उठाएको रकम घोटाला गरेको अभियोगमा उनी अनुसन्धानमा तानिएका हुन् ।
धरानको खानेपानी योजना र पार्क निर्माणको लागि देश-विदेशबाट संकलन गरेको करोडौँ रकम अनियमितता गरेको भन्दै ०८० वैशाखमा मेयर हर्कविरुद्ध अख्तियारमा उजुरी परेको थियो । त्यतिबेला उनले उपमहानगरकै केही वडाध्यक्षले बेनामे उजुरी दिएको भन्दै सामाजिक सञ्जालमा तथानाम गाली गरेका थिए । तर, अख्तियारले उक्त उजुरी मनासिव ठहर्याउँदै प्रक्रिया अघि बढाएको हो ।




आयोगको टोली अनुसन्धानका लागि धरान जाने भएपछि यता बिहानदेखि बेलुकासम्म फेसबुकमा अन्टसन्ट लेखेर जुहारी खेलिरहने हर्कले भने उक्त आरोप अस्वीकार गर्दै अनुसन्धानमा सहयोग नगर्ने संकेत दिएका छन् । यसअघि आफूले हालेका उजुरीको कारवाही प्रक्रिया कहाँ पुग्यो भन्दै उनले जवाफ पनि सँगै लिएर आउन घुमाउरो चेतावनी दिएका छन् ।
‘अख्तियारको इटहरी शाखाले अनुसन्धानको लागि आउँदैछौँ भनेर पत्र पठाएको छ, ठिकै छ आउनुस्, आएर शुरुमा मलाई भेट्नुस्, फेरि यता त्यता छिर्नुभयो भने अपमानित हुनुपर्ला’, उनले भिडियो सन्देशमा भनेका छन्, ‘मैले पनि अख्तियारमा थुपै उजुरी पठाएको छु, धरानकै आयोजनामा पूर्व वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालगायतले गरेको २२ करोड अनिमितता खोज्नू भनेका थिएँ, अहिले हाम्रो प्रदेशका भौतिकमन्त्रीले धरानमा राति दुई बजे कालोपत्रे गराउनुभएको रहेछ, राति नै किन गराउनु पर्यो ? त्यो पनि खोज्नु भनेको थिएँ, त्यसको रिजल्ट पनि लिएर आउनुहोला ।’
मेयर हर्कले रिजल्ट नलिई आएमा ‘भेटमा छुचो बोल्नुपर्ने हुनसक्छ’ भन्दै धम्किसमेत दिएका छन् । ‘म नगर प्रमुखजस्तो मान्छे, उपमहानगरपालिकाको लेटरप्याडमै बकाइदाका साथ चलानी नम्बर राखेर पठाएको उजुरीमा कुनै चासो देखिनँ, अनि बेनामे उजुरीमा निकै चासो देखियो, अख्तियारमा चाहि मलाई मन नपराउने पार्टीका मान्छेहरु छन् जस्तो लाग्छ, ठिकै छ आउदा मेरो पत्रको नतिजा लिएर आउनुस्, नत्र म पनि छुचो बोल्नुपर्ने हुनसक्छ है’, उनले थपेका छन् ।
प्रतिक्रिया दिनुहोस्