अक्सिजन नपाएर ज्यान गुमाएको घटनाबारे छानविन गर्न जसपाको माग

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरेको लापारबाहीका विषयमा छानविन गर्न सांसदहरुले माग गरेका छन्।

गण्डकी प्रदेश सभाको बजेट अधिवेशनमा बोल्दै सांसदहरुले उक्त माग गरेका हुन्।

frontline

अस्पतालले शुक्रबार बेलुकादेखि अक्सिजन आपूर्ति नभएको भन्दै बिरामीलाई अक्सिजन रोकेका थिए।

शुक्रबार दिउँसो ४ बजेदेखि अभाव भएको अक्सिजन शनिबार बिहानसम्म कायम थियो।

अक्सिजन नपाएकै कारण उक्त अवधिमा २५ वर्षीया सुत्केरी सहित ८ जनाको ज्यान गएको थियो। 

उक्त घटनाले सरकारको कोभिड नियन्त्रण क्षमता उदांगो भएको काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बताए।

उनले भने, ‘गण्डकीको राजधानीकै प्रमुख अस्पालमा जनता छटपटाएर मरेका छन्। राजधानीमै अक्सिजन प्लान्ट राख्न नसकेर जनताले ज्यान गुमाउनुपरेको छ, यो घटना सामान्य घटना होइन।’

उक्त घटनालाई लिएर सरकारले माफी माग्नुपर्ने नेपालीले बताए। ‘भोलिका दिनमा जनताले यस्तो भोग्न नपरोस्’, उनले भने, ‘यो घटनामा सरकारले सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’

जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले उक्त घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग गरे।

‘पर्याप्त अक्सिजन छ भनेर भाषण गरेर हिँड्ने, कोरोनाको सबै उपचार गर्छौ भन्ने, अक्सिजन नपाएर एकै रात मर्नुपर्ने’ उनले भने।

उक्त घटनाले कोरोना संक्रमितको उपचारमा कुनै सुधार नभएको देखाएको आचार्यले बताए।

उनले भने, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा समेत अक्सिजन दिन नसक्नु कसको दोष हो? बजेट छुट्याएर हुँदैन, गरी पुर्‍याउनुपर्ने होला नि त सरकार।’

घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गर्न उनले माग गरे। छानबिन गरेर दोषीलाई कारबाही हुनुपर्ने उनको भनाई छ। 

बजेट अधिवेशनको पहिलो दिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने स्वास्थ्य समस्याका कारण संसदमा उपस्थित भएनन्।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री गुरुङ बिरामी भएका कारण सदनमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए। 

मुख्यमन्त्री गुरुङका तर्फबाट सदनमा बोलेका भौतिक पूर्वाधारमन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले अक्सिजन अभावका कारण बिरामीको मृत्यु नभएको दाबी गरे।

सत्यतथ्य नबुझी प्रतिपक्षी दलका नेताहरु बोलेको भन्दै उनले घटनाको छानबिन भइरहेको र अक्सिजन अभाव नभएको निचोड नजिक पुगेको बताए। 

‘अस्पतालमा एउटा घटना घट्यो । हामीले बुझेअनुसार अक्सिजन त्यहाँ थियो । मिथ्या कुरा बोल्यौं भने, जनता एग्रेसिभ भयो भने ठूलो क्षति हुन्छ। सत्य के हो, तथ्य के हो, त्यो बोल्नुपर्छ’ उनले भने ।

स्वास्थ्यमन्त्रीको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री गुरुङसँग उक्त घटनाको जवाफ माग गरिएपनि उक्त अस्पताल प्रदेश सरकार मातहत छैन।

संघीय सरकार मातहत रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको उक्त अस्पताल व्यवस्थापनले आफुहरु संघीय सरकार मातहत रहेकाले प्रदेश सरकारको निर्देशन मान्नुनपर्ने बताउँदै आएको छ। 

अस्पतालका निर्देशक प्राडा. भरतबहादुर खत्रीले अक्सिजन अभावका कारण बिरामीको मृत्यु नभएको बताउँदै आएका छन्।

उक्त दिन ज्यान गुमाएका सुत्केरी सहित अन्य मृतकका कुरुवा र उपचारमा खटिएका डाक्टरसहितका स्वास्थ्यकर्मीले भने अक्सिजनको अभावकै कारण मृत्यु भएको बताउँदै आएका छन्। 

सुत्केरी महिलाका भाञ्जाले अकिसजन सकिएकै कारण माइजुको ज्यान गएको बताउँदै आएका छन्।

अस्पतालमा अक्सिजन नपाएपछि पोखराकै अक्सिजन उद्योग र अन्यन्त्र अक्सिजन खोज्न भौंतारिदा माइजुको ज्यान गएको उनको भनाइ छ। 

अस्पतालका डाक्टरसहित स्वस्थ्यकर्मीले पनि अक्सिजन उद्योगबाट आवश्यक भन्दा आधा कम अक्सिजन प्राप्त भएको र त्यही पनि समयमा प्राप्त नहुँदा बिरामीको मृत्यु भएको बताउँदै आएका छन्। 

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो यस सरकारी अस्पतालमा अहिलेसम्म अक्सिजन प्लान्ट छैन। यसबारे संघीय सरकारले अहिलेसम्म मुख खोलेको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here