अक्सिजनसहितको आइसोलेसनको प्रबन्ध गर्दै सुर्खेतका स्थानीय तह
फ्रन्टलाइन पालिका । भयावह बन्दै गएको कोरोना संक्रमणको जोखिम कम गर्न सुर्खेतका स्थानीय तह कोरोना प्रतिकार्यमा जुट्न थालेका छन् । पालिकाहरुले आफ्नै पहलमा अक्सिजन सहितका आईसोलेसन कक्षहरु स्थापना गर्न थालेका हुन् ।
नागरिकको ज्यान भन्दा ठुलो अरु केही नभएकाले पालिकाहरु पनि आ–आफ्नो क्षेत्रमा आईसोलेसन कक्ष स्थापनामा जोड दिएका हुन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजन सहितको आईसोलेसन तयारी थालेको छ ।
जस अनुसार शुक्रबारदेखि २५ बेडको आईसोलेसन कक्ष सञ्चालनमा ल्याईसकेको छ। नगरपालिकाले तत्काका लागि अक्सिजनसहितको आइसोलेसन अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । कटकुवा स्वास्थ्यचौकीको नयाँ भवनलाई अक्सिजनसहितको कोभिड–१९ अस्पताल बनाएर सञ्चालनमा ल्याइएको नगरउपप्रमुख मोहनमाया ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ‘अबको केही समयमा नै थप २५ शय्याको थपेर ५० शय्याको अक्सिजन सहित आईसोलेसन कक्ष सञ्चालन हुनेछ ।’ पालिकाले अस्पतालहरुमा पनि बेड अभाव भएकाले र वीरेन्द्रनगरमा कोरोनाका संक्रमितको संख्या पनि वृद्धि भइरहेकाले यो पहल थालेको हो । हालका लागि दुईजना डाक्टर र एउटा एम्बुलेन्स व्यवस्थापन गरिएको उपप्रमुख ढकालको भनाई छ ।
साथै बिरामीलाई बोक्न अक्सिजनसहितको एम्बुलेन्स पनि सञ्चालनमा ल्याइएको छ भने होम आशोलेसनमा रहेका बिरामीहरुका लागी टेलिमिडिसिएन सेवा र दुईवटा फोन नम्बर पनि सञ्चालनमा ल्याएईएको छ।
नगरपालिकाले हप्तामा दुईदिन सोमवार र शुक्रवार बिहान स्वाब संकलन गर्दै आएको छ । तर, स्वाब संकलन तथा पीसीआर परीक्षणका लागि आवश्यक किटको भने अभाव हुँने गरेको नगरपालिकाले बताएको छ । वीरेन्द्रनगनगर नगरपालिकाले गरेको परीक्षणमा मात्रै पछिल्लो समय नगरभित्र एकहजार सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्